हवाई इन्धनको मूल्य घटेसँगै नेपाल एयरलाइन्सले १५ प्रतिशतसम्म भाडा घटायो

हवाई इन्धनको मूल्य घटेसँगै नेपाल एयरलाइन्सले १५ प्रतिशतसम्म भाडा घटायो

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले हवाई इन्धनमा २० प्रतिशत मूल्य घटाएको छ। आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रियतर्फ) को मूल्य कटौती गरेको हो। केही दिनअघि पूर्वपर्यटनमन्त्री भानुभक्त ढकालले सरोकारवाला निकायहरूलाई राखेर हवाई इन्धनको मूल्य घटाउन आग्रह गरेका थिए। तर उनले छलफल गरेकै दिन मन्त्री पद गएको थियो। 

उनले गरेको प्रयास कार्यान्वयनमा आएको छ। निगमले पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको छलफलपछि यस्तो निर्णय लिइएको जनाएको छ।

यसरी निगमले हवाई इन्धनमा २० प्रतिशत मूल्य घटाएसँगै नेपाल एयरलाइन्सले पनि भाडा घटाएको छ। एयरलाइन्सका प्रवक्ता करिष्मा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा चार्टर्ड उडानमा १५ प्रतिशतसम्म हवाई भाडा घटाएको उल्लेख छ ।

त्यस्तै, उनले वाइडबडीमा १३ प्रतिशत र न्यारोबडीमा १५ प्रतिशतसम्म भाडा घटेको जानकरी दिइन्। नियमित उडानहरु सुचारु भएपछि एयरलाइन्सका अन्य गन्तव्यहरुको भाडामा समेत सोहीअनुसार समायोजन गर्दै जाने एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका अनुसार वाइडबडी जहाजको यसअघि प्रतिघण्टा १५ हजार ५२० अमेरिकी डलर थियो भने अब घटेर १३ हजार ४ सय ६० डलर कायम भएको छ। यसमा २ हजार ६० डलर घटेको छ। 

यस्तै न्यारोबडीमा प्रतिघण्टा ७ हजार ७ सय १० डलर रहेकोमा घटेर ६ हजार ५ सय ८० डलर कायम गरिएको छ। यसमा १ हजार १ सय ३० डलर कम भएको छ। प्रतिशतको हिसाव हेर्दा वाइडबडीमा १३ प्रतिशत र न्यारोवडीमा १५ प्रतिशत मूल्य घटेको हो।

इन्धनको मूल्य घटेसँगै अन्तर्राष्ट्रिय उडानमा रहेका एयरलाइन्सहरुको पनि हवाई भाडा घट्ने र पर्यटन उद्योगलाई नै दुरगामी प्रभाव पर्ने विश्वास नेपाल एयरलाइन्सले लिएको छ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अत्यन्तै महँगो भएको भन्दै  नेपाल लगायत देशहरुमा उडान सञ्चालन गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको तर्फबाट नेपाल वायुसेवा निगमले सम्वन्धित निकायमा पटक पटक आवाज उठाउँदै आएको थियो।

नेपाल एयरलाइन्सले हवाई भाडा घटाएसँगै निजी क्षेत्रबाट सञ्चालित एक मात्र अन्तर्राष्ट्रिय एयरलाइन्स हिमालयले पनि हवाई भाडा १० प्रतिशत घटाउने तयारी गरेको हिमालय एयरलाइन्सले जनाएको छ।

Logo