सजिलो छैन शैक्षिक प्रमाणपत्र देखाएर २५ लाख ऋण पाउन, प्रक्रिया नै झन्जट (भिडियोसहित)

सजिलो छैन शैक्षिक प्रमाणपत्र देखाएर २५ लाख ऋण पाउन, प्रक्रिया नै झन्जट (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

सरकारले नयाँ बजेटमार्फत शैक्षिक प्रमाणपत्र देखाएर २५ लाखसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ। धेरैले बजेटको यो निकै प्रशंसनिय कार्य भन्दै खुसी व्यक्त गरेका छन् । यो व्यवस्थाप्रति कतिपयले बुझेर खुसी व्यक्त गरेका छन् भने कतिपयले व्यंग्य गरिरहेका छन् । अनि कतिपयले भने भ्रममै रहेर यसको सह्राना पनि गरिरहेका छन्। तर, वास्तविकतामा भने प्रमाणपत्र देखाएर लिने ऋणका लागि ठूलै योजना आवश्यक रहेको देखिन्छ। जुन सामान्य प्रमाणपत्रधारीका लागि सहज पक्कै छैन। यस विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि शैक्षिक योग्यताको प्रमाणपत्र देखाएर मात्रै २५ लाख ऋण नपाउने बताएका छन्। यसको लागि भरपर्दो व्यवसायिक योजना र त्यसप्रतिको गम्भिर अध्ययनले मात्र सम्भव हुने उनको भनाइ छ। 

नेकपा एमालेमा अध्यक्ष केपी ओली र माधवकुमार नेपाल पक्ष दुई धारमा अघि बढिरहँदा एकताको प्रयास जारी छ। तर, दुवै पक्षले आ–आफ्नो अडान कायम राख्दा एकताको प्रयास विफल देखिन्छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी एकताका निम्ति आहृवान गर्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन्। जसमा एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनु पर्ने उल्लेख छ । तर, नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले अध्यक्ष ओलीबाट इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको निष्कर्ष निकालेको छ । यसअघि आफूले ओली समक्ष पेश गरेको ६ बुँदे प्रस्ताव कार्यान्वयन हुनुपर्ने अडान पनि माधव पक्षले कायमै राखेको छ। यसले एमाले भित्रको ६ बुँदे प्रस्तावको गाँठो झन् कसिलो बन्दै गएको छ। 

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकतामा ‘कोरोनाभाइरस कहरबाट देशलाई मुक्त गर्नु’ भएको बताएका छन्। सोमबार एक भर्चुअल सम्बोधनमार्फत मन्त्री तामाङले सबै नागरिकलाई एक महिनाभित्र खोप उपलब्ध गराउनका साथै पहिलो मात्रा खोप लगाएका जेष्ठ नागरिकलाई तत्काल दोस्रो डोज उपलब्ध गराउने पनि बताएका छन्। उनले नेपालमा कोरोनाको तेस्रो लहर आउन सक्नेमा मन्त्रालय चनाखो रहेको भन्दै बालबालीकाको सुरक्षा र उपचारमा पनि मन्त्रालयले पूर्व तयारी सुरु गरेको बताएका छन्। 

फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । नेपालका लागि प्रतिस्पर्धा निकै कठिन ठानिए पनि  राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जीतकै लागि हुने विश्वास व्यक्त गरेका छन्। जोर्डनसँग नेपाली टोलीको फुटबल इतिहास सुखद नरहे पनि यो पटक एसियन कप–२०२३ को छनोटका लागि पनि नेपालले जित्नै पर्ने दवाव रहेको छ। यद्यपि, खेलको नतिजा पनि कता जाने हो पखाईको विषय बनेको छ। 

पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। त्यहाँ स्थानिय अधिकारीहरूका अनुसार मिल्लात एक्सप्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठक्कर दिएको थियो। ठक्करपछि दुर्घटनामा परि थुप्रै घाइते भएको तथा मृतकको संख्या बढ्न सक्ने पनि त्यहाँका अधिकारीहरूले बताएका छन्। 

Logo