काठमाडौँ उपत्यकाभित्रका किसानहरुलाई धान रोप्ने चटारो

काठमाडौँ उपत्यकाभित्रका किसानहरुलाई धान रोप्ने चटारो

केन्द्रबिन्दु
0
Shares

मनसुन भित्रिएसँगै काठमाडौँ उपत्यकाभित्रका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ।

काठमाडौँ उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ हो। तर बढ्दो शहरीकरणले धान फल्ने खेतमा बहुतले घर ठडिएका छन्। तर उपत्यकाको काँठ क्षेत्रमा अझै खेतीयोग्य जमीन बाँकी छन्। यिनै काँठ, ढाप र डोलहरुमा धान रोपाइँ सुरु भएको हो। 

उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली (खुमल ४) धान लगाउने चलन छ। यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ। काठमाडौँमा प्रख्यात रहेको पोखरेली मसिनो र थापचिनी धान हराइसकेको छ। 

काठमाडौँका धानफाल्ने फाँट खुम्चिदै गएका छन्। यसलाई खुम्च्याउन तरकारीखेतीका टनेल, कुखुरा बंगुर–सुँगुर पालनले पनि सहयोग गरेका छन्। पछिल्लो समय काठमाडौँको धानमा वर्णशंकर बिउले बिकृति ल्याएको किसानहरुले बताएका छन्। बढी उत्पादन हुने लोभमा स्थानीय जातलाई छोडेर वर्णशंकर (हाइब्रिड) धान लगाउदा स्थानीय धानको जात मासिएको अगुवा किसान उद्धव अधिकारीले बताए।

स्थानीय जातको धान हराउदा धान चामलसँग जोडिएको संस्कृति पनि हराएको अगुवा किसान अधिकारीले बताए। यसको अर्को असर स्थानीयवासीको पोषण चक्रसमेत भत्किएको छ। 

यसपालीको धान रोपाइँ विगत वर्ष जस्तो छैन। कोरोना संक्रमणको जोखिमका बीच रोपाईंको काम गर्नु परेको छ। संक्रमण हुने डरले खेतमा काम गर्ने खेतालासमेत पाउन मुस्किल भएको छ। ललितपुर छम्पि क्षेत्रको खेतमा भेटिएका किसान रामचन्द्र तामांगले संक्रमणको डरको बीचमा काम गर्नु परेको बताए। 

काठमाडौँ उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा तोकिएको छ। निषेधाज्ञाले घरबाट खेतसम्म आउनजान मल विषादी किन्न समस्या परेको किसानहरुले बताएका छन्। 

Logo