धितोपत्र बोर्डको विज्ञप्ति प्रकरणः कहिले ‘कमब्याक’ होला सेयर बजार?

धितोपत्र बोर्डको विज्ञप्ति प्रकरणः कहिले ‘कमब्याक’ होला सेयर बजार?


सेयर बजार नियामक निकाय धितोपत्र बोर्डले पछिल्लो समय सेयर बजारमा इन्साइडर ट्रेडिङ र कर्नरिङ गरेर सेयर मूल्य बढाउँदा लगानीका लागि जोखिम रहने भन्दै  गत  मंगलबार ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो। 

यसअघि नै इन्साइडर ट्रेडिङ र कर्नरिङको विषय चर्काे रुपमा उठेपछि  बोर्डले एक महिनाअघि सूचीकृत भएका कम्पनीबारे अध्ययन सुरु गरेको थियो।

बोर्डले निश्चित मापदण्डका आधारमा अध्ययनपश्चात् जोखिमयुक्त ५१ कम्पनी छनोट गरेको थियोे। बोर्डले करिब  एक वर्षको अवधिमा नेप्सेमा  सूचीकृत संगठित संस्थाहरुको सेयरको ३ सय प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको, मूल्य आम्दानी अनुपात एक सयभन्दा बढी भएको, प्रति सेयर आम्दानी ऋणात्मक भएको, प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर नेटवर्थ कमका आधारमा छनोट गरेर नाम सार्वजनिक गरेको जनाएको छ।

बोर्डले यसरी  ५१ सूचीकृत कम्पनीलाई जोखिमयुक्त सूचीमा राखेपछि लगानीकर्ताले विरोध गरेका छन्।  यता, निषेधाज्ञापछि दैनिकजसो नयाँ रेकर्ड बनाउँदै आएको  नेप्से परिसूचक  दुई दिनयता ओरालो लाग्न थालेको छ। बोर्डले ५१ कम्पनीलाई रेडजोनमा राखेपछि सर्वसाधारण लगानीकर्ता निरास हुुनका साथै आत्मबल गुमाउन थालेका छन्।  

बोर्डले सूचीकृत कम्पनीको नामै किटान गरेर विज्ञप्ति निकाल्नु गलत भएको भन्दै नेप्सेलगायत लगानीकर्ता संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन), स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल र नेपाल उद्योग परिसंघले विरोध जनाएका छन्। 

बोर्डको यस्तो कार्यले कम्पनीमा लगानी गर्ने सर्वसाधारण जनता तथा लगानीकर्ताको मनोबल घटी नेपाली पुँजीबजारमा समेत नकारात्मक असर पर्ने उनीहरुका भनाइ छ।  यता नेप्से परिसूचकमा मंगलबारदेखि नै यसको प्रभाव देखिन थालेको छ। पछिल्लो समय सेयर बजारमा थपिँदै गएका लगानीकर्ताको मनोविज्ञान सेयर बजार जहिले पनि उँभो जान्छ भन्ने लागिरहेको हुनसक्छ । त्यसैले होला लगानीकर्ताहरु शेयर बजारमा झुम्मिँदा बजारमा उछाल आउन थालेको थियोे। यता लगानीकर्ताले पनि नाफा मात्रै देखेको हुँदा अहिले सेयर बजारमा जस्तोसुकै कम्पनीको सेयर मूल्य बढ्दै गएको थियोे । 

त्यसो त यही यस साता नेप्सेले ‘अल टाइम हाइ क्लोजिङ प्वाइन्ट’ हासिल गरेको थियोे। सोमबार नेप्से सूचक हालसम्मकै उच्च ३०२५.८३ विन्दुमा पुगेर बन्द भएको थियो। साथै, सेयर कारोबार रकमले पनि नयाँ रेकर्ड राख्न सफल भएको थियो। आइतबार १९ अर्ब ५५ करोड बढी रुपैयाँको सेयर कारोबार भएको थियो। तर, बिहीबार सेयर कोरोबार पनि ९ अर्ब १५ करोड रुपैयाँ घटेको छ। यद्यपि, यसरी  धितोपत्र बोर्डको विज्ञप्तिपछि भने सेयर बजार ‘प्यानिक सेल’ भएको देखिन्छ ।

सोमबार अहिलेसम्मकै उच्च ३ हजार २५.८३ विन्दुमा पुगेको बजार बिहीबार कारोबार बन्द हुँदा १.२९ अंकले घटेर २ हजार ९६८.४३ अंकमा झरेको छ। तीन दिनमा ५७.४ अंकले घटेको छ भने बुधबार मात्रै एकै दिन सर्वसाधारण लगानीकर्ताले एक खर्ब ८२ अर्ब रुपैयाँ गुमाएका छन्। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको विज्ञप्ति नसच्याए शेयर बजारमा दीर्घकालीन असर पर्नसक्ने बताएका छन्। 

उनले  सूचीकृत २ सयभन्दा बढी कम्पनीमध्ये ५१ कम्पनीलाई कालोसूची अर्थात् रेडजोनमा राखेर लगानीकर्ताको लगानी असुरक्षित बनाउने काम स्वयं धितोपत्र बोर्डले गरेकाले  निर्णय सच्याउनुपर्ने बताए। 

सोमबार अहिलेसम्मकै उच्च ३ हजार २५.८३ विन्दुमा पुगेको बजार बिहीबार कारोबार बन्द हुँदा १.२९ अंकले घटेर २ हजार ९६८.४३ अंकमा झरेको छ। तीन दिनमा ५७.४ अंकले घटेको छ भने बुधबार मात्रै एकै दिन सर्वसाधारण लगानीकर्ताले एक खर्ब ८२ अर्ब रुपैयाँ गुमाएका छन्। 

उनले भने, ‘शंकास्पद कम्पनीलाई कारबाही हुनैपर्छ। तर, यसरी नामै किटान गरेर सार्वजनिक गर्दा बजारमा कस्तो प्रभाव पर्छ भन्ने कुरा धितोपत्र बोर्डका अधिकारीले हेक्का राख्नुपथ्र्यो। बोर्डमा लामो समय काम गरेका अनुभवी सेयर विज्ञ हुँदा पनि यस्तो कदम चाल्नु दुःखद हो।’ रौनियारका अनुसार बोर्डको सूचीमा सरकारी कम्पनी पनि परेका छन्। अब लगानीकर्ताले सरकारी कम्पनीमा लगानी गर्न पनि सोच्नुपर्ने अवस्था आएको छ। 

यसरी जोखिमयुक्त भन्दै एकैपटक कम्पनीका नामावली सार्वजनिक गर्दा स्वतन्त्र बजारमाथि एक किसिमको हस्तक्षेप भएको भनेर बुझ्न सकिने रौनियारको धारणा छ। ‘धितोपत्र बोर्डसँग आइटी विशेषज्ञ  छन्, त्यस्ता शंकास्पद कारोबार आइटी विशेषज्ञ राखेर लाइभ मार्केटमै धितोपत्र बोर्डले सचेत गर्न तथा कारबाही गर्न सक्छ तर बोर्डले त्यसो नगरी नामै किटान गरेर सार्वजनिक गर्दा स्वतन्त्र बजारमा असर परेको छ,’ उनले भने। 

सेयर बजारमा सूचीकृत कम्पनीको मूल्य माग र आपूर्तिले निर्धारण गर्छ। लगानीकर्ताले जोखिम मूल्यांकन गरेर नै सेकेन्डरी मार्केटमा लगानी गर्छन्। त्यसैले फलानो कम्पनी लगानीका लागि जोखिमयुक्त हुन्छ भनेर नाम नै किटान गरी धितोपत्र बोर्डले विज्ञप्ति निकाल्नु गलत अभ्यास भएको लगानीकर्ताको दाबी छ। करिब ४१ खर्ब पुँजीकरण भएको बजारमा यस्तो कार्य गर्नुअघि यसले बजारमा पार्ने असरबारे ख्याल गर्नुपर्ने रौनियारको ठम्याइ छ।

बोर्डले नीति, निर्देशिका तथा सीमा तोक्नु सकारात्मक भए पनि कम्पनीको नामै निकाल्दा लगानीकर्तामा नकारात्मक प्रभाव पर्छ। बोर्डसँग लगानीकर्ता तथा कम्पनीको सम्बन्ध चिसिएको अवस्थामा अझै पनि बोर्डले निर्णय सच्याए बजारले लय लिने रौनियारको आँकलन छ। 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति अम्बिका पौडेलले पुँजीबजारमा आउने बुललाई कसैले पनि छेक्न नसक्ने बताएका छन्। नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दै जोखिमयुक्त भएको बताएपछि  उनले  फरक विश्लेषण गरेका थिए। पौडेलले नेपाल धितोपत्र बोर्डको विज्ञप्तिले लगानी भत्काउन नसक्ने बताउँदै आएका छन्। 

समय–समयमा पुँजीबजारमा आउने उछाल अर्थात् बुल वर्षायाममा नदीमा बढ्ने पानीको बहावजस्तै रहेको उनले बताएका छन्। ‘नियामकको आँखाबाट देखिने यो बाढीलाई न कसैले रोक्न सक्छ, न कसैले छेक्न सक्छ। बुलिस मार्केट अझै धेरै समय कायम रहन सक्छ।  बल्ल असार त सुरू भएको छ,’ पौडेलले फेसबुकमा लेखेका छन्। 

बोर्डको यस कदमपछि समग्र पुँजीबजारमा एक हिसाबले तरंग पैदा भएको छ। बोर्डको विज्ञप्ति प्रकरणलाई लिएर बजारमा विभिन्न प्रकारका बहस र टीकाटिप्पणी भइरहेका छन्। यसबीचमा बजार सामान्य करेक्सन पनि भएको छ। अब आइतबार बजारले कुन रुप लिन्छ, त्यो भने हेर्न बाँकी छ।

Logo