लकडाउन सहज बनाउन व्यवसायीहरुले दिए जिल्ला प्रशासनलाई लिखित सुझाव

लकडाउन सहज बनाउन व्यवसायीहरुले दिए जिल्ला प्रशासनलाई लिखित सुझाव

केन्द्रबिन्दु
0
Shares

करिब डेढ महिनादेखि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ। कोरोना महामारीको दोस्रो लहर तीब्ररुपमा फैलिएसँगै संक्रमण नियन्त्रणका लागि सात दिन निषेधाज्ञा लागू गरिएको थियो।

तर संक्रमण बढ्दै जाँदा निषेधाज्ञा पनि बढ्दै गएको छ। निषेधाज्ञा लामो भएको भन्दै व्यवसायीहरुले स्वास्थ्य मापदण्ड कडाइ गरेर निषेधाज्ञा खोल्नु पर्ने माग राख्न थालेका छन्।

तर काठमाडौं उपत्यकामा असार ७ पछि ‘स्मार्ट लकडाउन’ गर्ने चर्चा चलिरहेको छ। यस्तो चर्चा चलिरहेको अवस्थामा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयलाई कसरी लकडाउन सहज बनाउने विषयमा सुझाव दिएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले विभिन्न २१ वटा संघका अध्यक्षहरुसँगको छलफलबाट जिल्ला प्रशासन कार्यालयलाई कसरी लकडाउन सहज बनाउने भन्ने विषयमा सुझाव दिएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी र महासंघका अध्यक्षबीच शुक्रबार निषेधाज्ञा खुला गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो।

छलफलमा ७ असारपछि पनि सबै व्यवसाय बन्द गरिए स्वीकार्य नहुने व्यवसायीहरुले बताएका थिए। प्रशासनले निषेधाज्ञा सहज कसरी बनाउन सकिन्छ भनेर लिखित सुझाव मागेकाले महासंघले शुक्रबार लिखितरुपमा नै सुझाव दिएको महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए।

महासंघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर अब सबै प्रकारका व्यापार व्यवसाय खुला गर्न सुझाव दिएको छ। अध्यक्ष कटुवालले भने, ‘बिहान ९ बजेदेखि १ बजेसम्म होलसेल पसल खुला गर्ने, १ बजेदेखि साँझ ६ बजेसम्म खुद्रा पसल खुला गर्न प्रस्तावसँगै व्यापार व्यवसायमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गराउनु पर्ने पनि सुझावमा दिएका छौं।’

त्यस्तै, डिपार्टमेन्ट स्टोर तथा सपिङ सेन्टरहरुहरुमा एउटा मात्रै प्रवेशद्वार प्रयोग गर्ने, प्रवेशद्वारमा थर्मल गनबाट तापक्रम प्रयोग गर्ने, मास्क र स्यानिटाइजर अनिवार्य गर्ने तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्ने लगायतका सुझाव दिएको उनको भनाइ छ।

Logo