विश्व बैंकद्वारा नेपाललाई १५ करोड डलर बराबरको सहुलियत ऋण सहयोग

विश्व बैंकद्वारा नेपाललाई १५ करोड डलर बराबरको सहुलियत ऋण सहयोग

केन्द्रबिन्दु
0
Shares

नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

नेपाल सरकार र विश्व बैंकबीच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (करिब १७ अर्ब ७८ करोड रुपैंयाँ) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो। 

आइतबार भएको सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले यो सम्झौता अन्तर्गत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जीवन दिन, आर्थिक गतिविधिलाई तिव्रता दिन र हरित वृद्धिलाई सहयोग गर्ने गरी कार्यक्रम सञ्चालन गरिने बताए। चालु आर्थिक वर्षमै विनियोजन गरिएको पूर्वाधार निर्माणतर्फको खर्चको लागि यो रकम यसै आर्थिक वर्षभित्र परिचालन हुने पनि उनले बताए।

कार्यक्रममा बोल्दै माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस आयोजनाले कोभिड–१९ को महामारीका बेला र महामारीपछि पनि नेपालमा दीगो वृद्धि हासिल गर्न सहयोग गर्ने बताए। कोभिड महामारीको समयमा मानिसको जीवन रक्षा तथा अर्थ व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरुलाई सघाउन विश्व बैंक प्रतिबद्ध रहेको पनि उनले बताए।

यस आयोजनाले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशील बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालु ठूला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्ने बताइएको छ।

Skip This
Skip This
Logo