‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइने

‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइने

केन्द्रबिन्दु
0
Shares

आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । 

यस आर्थिक वर्षमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । सो क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागकी निमित्त महानिर्देशक जानुका पण्डितले बताइन्। 

अठारौं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको पूर्वसन्ध्यामा कृषि विभागले आइतबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्षको धानको उत्पादनको सम्बन्धमा बताएको हो। विभागले यस वर्ष अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफलमा १ प्रतिशत र धान उत्पादनमा १ दशमलव ३ प्रतिशतले वृद्धि भएको जनाएको छ । निमित्त महानिर्देशक पण्डितले आगामी दिनमा धान बालीको उत्पादकत्व वृद्धिको दरलाई अझै फराकिलो र दिगो बनाउनु पर्ने आवश्यकता रहेको बताइन् ।

देशमा धानको उत्पादन वृद्धि गरी खाद्य सुरक्षाको अवस्था सुधार गर्न, धानमा आत्मनिर्भर बन्न र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आयमा वृद्धि गर्न सकिने आधारहरु रहेको उनले बताइन्। पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा करिब ५९ प्रतिशत वृद्धि भएको पनि उनले जानकारी दिइन्।

हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइने गरिएको छ। यस वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ धान दिवस मनाइने निमित्त महानिर्देशक पण्डितले बताइन्। 

Skip This
Skip This
Logo