आज असार १५ः राष्ट्रिय धान दिवस मनाईंदै

आज असार १५ः राष्ट्रिय धान दिवस मनाईंदै

केन्द्रबिन्दु
0
Shares

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि यस दिन दही चिउरा खान्छन्। 

यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भन्ने किंवदन्ती छ । 

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिउने गरेमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ। ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।
 
धान दिवस

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।

वर्षभरका लागि छाक जुटाउन यो महिना किसान खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुमा छुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ।

Logo