काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ।
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा शुक्रबार बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो।
असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा काठमाडौँ महानगर प्रमुख शाक्यले आर्थिक विधेयक, २०७८’ र सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव २०७८/७९ का लागि बजेट प्रस्ताव गरेकी थिइन्। कामपाले आगामी आवका लागि रू १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट प्रस्ताव गरेको थियो। आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क बेहोर्ने बजेटमा जनाइएको छ ।
यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको छ।
त्यसैगरी कामपाले आर्थिक विधेयक, २०७८ मा कोभिड-१९ को प्रभावलाई ध्यानमा राखी करदाताबाट असूल हुन बाँकी रहेको आव २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने भएको छ।
सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। कामपाका होटल, रेष्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ। कामपाको यही असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो। चालु आवका लागि भने कामपाले रु १५ अर्ब ५० करोडको बजेट ल्याएको थियो।





























प्रतिक्रिया