काठमाडौं ।
सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भने पनि हालसम्म कोही पनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गतेदेखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । तर सात दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्थाका कारण विदेशी पर्यटकहरुले सोधपुछ गरेपनि बुकिङ नगरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
नेपालमा कुनै पनि पर्यटक घुम्न आउँदा नेपाल आइसकेपछि ७ दिन क्वारेन्टाइनमा बस्नु पर्छ । त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आए मात्रै पदयात्रा र पर्वतारोहणका लागि पर्यटक जान पाउँछन् । त्यसैले पनि पर्यटकलाई सहजै नेपाल घुम्ने वातावरण अझै बनिसकेको देखिंदैन । पर्यटन व्यवसायी सुदर्शन नेपालका अनुसार पछिल्लो समय नेपालमा पदयात्रा गर्न, पर्वतारोहण गर्न र र्याफ्टीङ गर्नका लागि सोधपुछ गर्ने पर्यटकहरुको संख्या बढीरहेको छ ।
खासगरी नेपालमा कोभिड संक्रमण नियन्त्रणको लागि के कस्ता मापदण्ड छन् भन्ने सम्बन्धमा पर्यटकहरुले सोधपुछ गरिरहेका छन् । तर पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको संक्रमणको स्थितिका कारण आफूहरुले टिकट बुकिङ गर्न आग्रह गर्न नसकेको नेपालले बताए।
आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले पनि नेपालमा घुम्नका लागि तय भएको मापदण्डको विषयमा पर्यटकहरुले सोपुछ गरिरहेको बताए । संसार भर नेपाल पदयात्रा र पर्वतारोहणका लागि प्रख्यात भएकाले पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने पर्यटकहरुले नै सोधपुछ गरिरहेको उनले बताए । तर अहिले सम्म कुनै पनि पर्यटकले नेपाल घुम्नका लागि टिकट बुकिङ गरिनसकेको सापकोटाले बताए।
पर्यटकहरुले नेपाल आउन सोधखोज गरिरहे पनि आफूहरुले सरकारी मापदण्डका कारण चित्तबुझ्दो जवाफ दिन नसकेको व्यवसायीहरुको भनाई छ । तर पनि सरकारले तोकेको मापदण्ड पालना गरेर पर्यटकलाई सेवा दिन आफूहरु तयार रहेको पनि व्यवसायीहरु बताउँछन् । खासगरी पदयात्रा, पर्वतारोहण र र्याफ्टीङमा जाँदा कोभिड संक्रमणको जोखिम नहुने गरी पर्यटकलाई सेवा दिन सकिने पनि व्यवसायीहरु बताउँछन् । कोभिडले थला परेको पर्यटन क्षेत्रमा लकडाउन खुलेसँगै नयाँ उत्साह आउने अपेक्षा व्यवसायीहरुले गरे पनि सरकारी मापदण्डका कारण पर्यटक नआउँदा भने व्यवसायीहरु निराश देखिन्छन् ।





























प्रतिक्रिया