लिक निर्माण भएको दुई वर्षपछि जनकपुर–जयनगर रेल्वे खण्डको ट्रयाकको परीक्षण

लिक निर्माण भएको दुई वर्षपछि जनकपुर–जयनगर रेल्वे खण्डको ट्रयाकको परीक्षण


लिक निर्माण सम्पन्न भएको दुई वर्षपछि जनकपुर–जयनगर रेल्वे खण्डको ट्रयाकको परीक्षण गरिएको छ। आफ्नो रेल हुँदाहुँदै भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको हो।

आइतबार भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रुटमा भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको हो। नेपालले गत वर्ष खरीद गरेर ल्याएको रेलले नै ट्रयाक परीक्षण गर्ने बताइएको थियो। तर, भारतीय रेल ल्याएर परीक्षण गरिएको हो। ट्रयाक परीक्षण गर्दा १२० किलोमिटर प्रतिघण्टा दौडने भनिएपनि गति कमै देखिएको स्थानीयले बताएका छन्।

ट्रयाक परीक्षण सफल भएको रेल्बे साइट इन्जिनियर बिनोल ओझाले जानकारी दिए। ‘टेक्निकली ट्रयाक ठीक छ । अब रेल गुडाउन सकिन्छ’ ओझाको भनाइ छ। आफ्नो रेल हुँदाहुँदै परीक्षणका लागि भारतीय रेल किन ल्याइएको ? भन्ने जिज्ञासामा ओझाले परीक्षणका लागि छुट्टै यान हुने भएकाले भारतीय रेल नै ल्याएर परीक्षण गरिएको बताए।

आइतबार भारतीय रेल ट्रयाकबाट गुड्दा जनकपुरधाम रेल्वे स्टेशनसहित विभिन्न ठाउँमा हेर्ने स्थानीयको भीड लागेको थियो। नेपाल सरकारले गत बर्ष रु ८४ करोड ६५ लाखमा खरीद गरेका दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ। रेल कहिले संचालनमा आउने भन्ने कुराको यकीन हुन सकेको छैन।

Logo