मिटर रिडिङ नगरी जरिवाना असुल

मिटर रिडिङ नगरी जरिवाना असुल

केन्द्रबिन्दु
0
Shares

सर्लाही ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुलिएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । कोभिड–१९ नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको मिटर रिडिङ नगरी चुप बसेको वितरण केन्द्रले जरिवाना भन्दै उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताको गुनासो छ ।

उनीहरूले वितरण केन्द्रका कर्मचारीको मनलाग्दी खपत शुल्कमा जरिवानासमेत लिने गरेको लालबन्दीका उपभोक्ता श्याम लामाले बताए। विगत पाँच÷छ महिना मिटर रिडिङ नगरी बसेको सबस्टेशनले लकडाउन अलि सहज भएपछि बिल तिर्न आउन सूचना नै जारी गरेर जरिवानासहित शुल्क असुलेको अर्का स्थानीय रमेश कार्कीको गुनासो छ ।

विद्युत् वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिङ नगरेका कारण आम सर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लकडाउनको समयको पनि जरिवाना तिर्न बाध्य भएका छन् । प्राधिकरणका कर्मचारीले समयमा मिटर रिडिङ नगरेको र आफूले पैसा तिर्दा मिटरमा उठेको रकमको जरिवानासमेत गरी तिर्नु परेको उनीहरूको गुनासो छ ।

यो त उदाहरणका पात्र मात्र हुन् । लालबन्दीमा रहेको विद्युत् प्राधिकरण वितरण केन्द्रको लापर्वाहीका कारण वितरण केन्द्र माताहतका अधिकांश बिजुली उपभोक्ता समस्यामा परेका छन् । सरकारले लकडाउनको समयमा विद्युत् महशुलको जरिवाना नलिन भनेको भए पनि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुल्ने गरेको गुनासो आएको हो । शुरुशुरुमा समस्या आएको तर अहिले त्यो समस्या समाधान भइसकेको साथै सबै विकल्प दिइएको भए पनि उपभोक्ताले बेवास्ता गरेका र सबैलाई जानकारी नभएका कारण पनि समस्या आएको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीरकुमार रायले बताए।

पहिलाको निर्णय अनुसार असोज ६ गतेपछि जरिवाना लिने भनिएको र सोही अनुसार जरिवाना लिएको तर फेरि विद्युत् प्राधिकरणले असोज २२ गतेसम्म जरिवाना नलिने निर्णय गरेपछि बीचमा लिएको जरिवाना खपत युनिटबाट घटाउने विद्युत् प्राधिकरणले निर्णय गरेको वितरण केन्द्रका प्रमुख रायले बताए।रासस

Logo