नयाँ आर्थिक वर्ष लागेसँगै वृद्धि हुन थालेको शेयर बजारमापक नेप्से आज ३ हजार अंकमाथि पुगेको छ। साताको अन्तिम कारोबार दिन विहीबार नेप्से १८.७५ अंकले बढेर ३ हजार ४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको छ।
यसअघि ०७८ जेठ ३१ गतेको नेप्से ३ हजार २५.८३ बिन्दुमा पुगेको थियो। आज कारोबारको मध्यतिर ३ हजार १८.१५ अंकसम्म सूचक पुगेको थियो। तर कारोबार घटबढ हुँदै ३ हजार ४.३१ विन्दुमा रोकिएको छ।
कारोबारमा आएका २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँमा कारोबार भएको छ । १२० वटा कम्पनीको शेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको घटेको छ । त्यसैगरी ९ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।
कारोबार प्रवृत्ति हेर्दा आगामी साता बजारले नयाँ उचाइ पच्छ्याउने सम्भावना बढेको इन्भष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । राष्ट्र बैंकले ल्याउने मौद्रिक निती शेयर लगानीकर्ता क्षेत्रमा प्रभावित पार्ने किसिमको नआउने तथा कम्पनीहरुबाट बोनस खाने समय भएकाले अब शेयर बजारले यस अघिका सबै रेकर्ड तोड्दै जाने उनको भनाइ छ।
आज वाणिज्य बैंक समूह (बैकिङ)मा वृद्धि आएपछि समग्र नेप्सेलाई उचालेर लागेको छ। त्यस्तै आज जलविद्युत्, वित्त, निर्जीवन बीमा र म्युचुअल फन्ड समूह सूचक पनि बढेको छ।
बिहीबार सीइडीइबी हाइड्रोपावर डेभलपमेन्ट, ङाधी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल र लक्ष्मी उन्नति कोषको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै पोखरा फाइनान्स, लक्ष्मी इक्वीटी म्युचुअल फन्ड, ग्लोवल आइएमई समुन्त स्किमको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ । कारोबार रकममा कृषि विकास बैंक सबैभन्दा बढी ४६ करोड २१ छ भने एनआईसी एसिया बैंकको ३६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।





























प्रतिक्रिया