काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले तोडफोड गरेका छन् । प्रदेश सभाको सोमबार दोस्रो पटक बसेको बैठकमा कांग्रेस सांसदहरुले तोडफोड गरेका हुन् । प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेश गर्न समय दिएसँगै कांग्रेसका सांसदहरुले तोडफोड गरेका हुन् ।
त्यस्तै काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा एकैपटक ५ शिशुको जन्म भएको छ । सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ जना शिशुलाई जन्म दिएकी हुन् । अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत उनले ५ जना शिशुको जन्म दिएकी थिइन । ५ जनामध्ये ४ जना जीवित रहेको र १ जनाको जन्मनुअघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले जनाएको हो ।
त्यस्तैगरी पछिल्लो समय विद्यालय खुल्न थालेका छन् । कोरोना महामारीका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका विद्यालयहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै सञ्चालनमा आउन थालेका हुन् । करिब छ महिनापछि शैक्षिक संस्थाहरु सञ्चालनमा आँउदा विद्यार्थी तथा अभिभावक खुशी देखिएका छन् ।
नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करिब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउनबाट बन्चित भएका छन् । महिला, कानुन र विकास मञ्चले सोमबार आयोजना गरेको नागरिकता विधेयकका विषयमा सञ्चारकर्मीसँगको भर्चुअल छलफल कार्यक्रममा वि.सं २०६८ को जनगणना अघि गरिएको अध्ययनका आधारमा यस्तो तथ्य सार्वजनिक भएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया