काठमाडौं ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न व्यक्तिलाई लाखौँ ठगी गर्ने एक जना कारागार चलान भएका छन् । वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको आरोप पुष्टि भएर पनि दुई वर्षदेखि फरार हुँदै आएका सिन्धुपाल्चोक घर भई भक्तपुर च्यामासिंह बस्ने ३७ वर्षीय सुदीप भनिने तुलबहादुर तामाङलाई काठमाडौँ जिल्ला अदालतले आइतबार कारागार चलान गरेको हो ।
०७४ भदौ ११ गते वैदेशिक रोजगार न्यायाधिकरणले ठगी गरेको प्रमाणित गरी उनलाई एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवानाको आदेश दिएको थियो । त्यसपछि उनी फरार थिए । उनलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले शुक्रबार काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरेको र आइतबार फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए ।
शनिबार बिदा परेकाले उनलाई आज अदालतमा पेश गरिएकामा अदालतले कारागार चलान गरेको बताइएको छ । सोही घटनामा संलग्न अर्का एक जनालाई पनि आइतबार साँझ पक्राउ गरिएको छ । उनलाई सोमबार अदालतमा पेश गरिने महाशाखाले जनाएको छ ।
४० लाखमा बाघको छाला बेच्ने प्रयास असफल
दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले काठमाडौँको स्वयम्भूबाट आइतबार पक्राउ गरेको छ । बाघको छाला अवैध रुपमा रु ४० लाखमा बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका– १५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका– ५ का टेकबहादुर तामाङ, सुजन थिङ र आशिष तामाङ तथा मकवानपुर, थाहा नगरपालिका –८ का सानुकान्छा थिङ रहेको महाशाखाले जनाएको छ । उनीहरुका साथबाट अन्दाजी नौ फिट लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको प्रतिबन्धित पाटे बाघको छाला बरामद गरिएको छ । प्रहरीका अनुसार धादिङका व्यक्तिबाट टेकबहादुरले ३५ लाखमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ ।रासस































प्रतिक्रिया