पाँच वर्ष पहिले नै सकिनु पर्ने मध्य भोटेकोशी नौ वर्षमा पनि ६५ प्रतिशत मात्र सम्पन्न

पाँच वर्ष पहिले नै सकिनु पर्ने मध्य भोटेकोशी नौ वर्षमा पनि ६५ प्रतिशत मात्र सम्पन्न

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको  नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिए।

छ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड–१९ को सङ्क्रमणका कारण काम पछि घकेलिँदै गएको छ। हाल जुरेमा पहिरो झर्ने क्रम नरोकिएकाले दैनिक सामान ढुवानीमा समस्या झेलिरहनु परेको र बाढीले क्षति भएका उपकरण ल्याउन पनि कठिन भइरहेको उनको भनाइ थियो। 

आयोजनामा कार्यरत धेरै कामदार कोरोनासङ्क्रमित भएकाले पनि काममा असर पुगेको बताइएको छ। त्यहाँ हाल नेपाली ७० र चिनियाँ १८९ गरी २५९ कामदार कार्यरत छन्। सात सय २४ मिटर सुरुङमध्ये ४१५ मिटर खन्न अझै बाँकी छ। विद्युत्गृहको काम ७५ प्रतिशत र बाँधको काम ५० प्रतिशत मात्र सकिएको छ। 

काठमाडौँ लगिने माथिल्लो तामाकोशीको २२० केभी सिङ्गल सर्किट प्रशारण लाइनको सव–स्टेशन बाह्रबिसेमा रहने हुँदा आयोजनास्थलबाट बाह्रबिसेसम्म चार किलोमिटर प्रशारण लाइनको प्रक्रिया सुरु भएको छ। यसका लागि आवश्यक पर्ने १३ वटा टावरमध्ये आठ वटा वनक्षेत्रमा रहने  हुँदा वन तथा वातावरण मन्त्रालयबाट रुख कटानका स्वीकृति आउने प्रक्रियमा छ। त्यस्तै पाँचवटा टावर व्यक्तिको जमिनमा परेकाले मुआवजाको प्रक्रिया सुरु गरिएको छ। 

स्वदेशी लगानी रु १४ अर्ब ५० करोडमा निर्माण भइरहेको आयोजनामा चिनियाँ कम्पनी ग्वाङसी हाईड्रो इलेक्ट्रिकल कन्स्ट्रक्सन ब्यूरो र भारतीय आष्ट्रिया एण्डिज हाइड्रोले काम गरिरहेको छ।

Skip This
Skip This
Logo