अर्थमन्त्री र गभर्नरको फोन वार्तापछि शेयर बजारमा अप्रत्याशित सुधारः १६१.९४ अंकले बृद्धि

अर्थमन्त्री र गभर्नरको फोन वार्तापछि शेयर बजारमा अप्रत्याशित सुधारः १६१.९४ अंकले बृद्धि


साताको पहिलो दिन आइतबार १०८ अंकको भारी गिरावट आएको शेयर बजार सोमबार भने हरियाली छाएको छ ।

शेयर बजार प्रभावित पार्ने गरी नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडदेखि १२ करोडको शेयर धितो कर्जामा सिमा तोकिएकाले शेयर बजार निरन्तर रुपमा गिरावट आएको थियो ।

आइतबार लगानीकर्ताहरूले विज्ञप्ती नै निकालेर राष्ट्र बैंकको विरोध गर्दै गभर्नरको राजीनामासमेत माग गरेका थिए । तर सोमबार भने सबैजसो कम्पनीको शेयर मूल्य बढेर हरियाली छाएको छ । 

यसरी हरियाली छाएर शेयर बजार मापक नेप्से परिसूचक १६१.९४ अंकले इतिहासकै सबैभन्दा बढी अंकले बढेर २ हजार ९८०.५० अंकमा पुगेको छ ।

आइतबार लगानीकर्ता समूहले र राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जामा कडाइ गर्दै एउटा बैंकबाट एकजनाले बढीमा ४ करोड र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म लिन पाउने गरी नयाँ व्यवस्था गरेको थियो ।

लगानीकर्ता समूहले सोमबार शंकरदेव क्याम्पसबाट बालुवाटारसम्म बाइकमा र्याली निकाल्दै गभर्नरको राजीनामासमेत माग गरेका थिए । उनीहरुले बुक विल्ङिङ विधि लागू नगर्न तथा १० कित्ता नीतिलाई यथावत नै राख्नुपर्ने समेत नारा लगाएका थिए ।

त्यस्तै, आइतबारको बजार तथा लगानीकर्ता समूहहरुको विरोधपछि अर्थमन्त्रीले शेयर बजारबारे चासो राखेका थिए । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गर्दै चासो व्यक्त गरेका थिए ।

अर्थमन्त्रीको सक्रियताको सकारात्मक असर सोमबारको कारोबारमा देखिएको छ । त्यस्तै, सोमबारको कारोबारमा १ करोड ७८ हजार ६८ लाख १६६ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६ रुपैयाँमा कारोबार भएको छ । 

आज २११ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८ वटा कम्पनीको मात्रै शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर छ ।

उपसमूहतर्फ विकास बैंक ९.८१ प्रतिशत, फाइनान्स ९.०६ प्रतिशत, जलविद्युत् ८.७५ प्रतिशत, होटल तथा पर्यटन ६.३६ प्रतिशत, लगानी समूह ६.६७ प्रतिशत, जीवन बीमातर्फ ५.०३ प्रतिशतले वृद्धि देखिएको छ ।

आज ५० भन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Logo