कैलाली ।
मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ ।
कार्यालय परिसरमा दैनिक सयौँको संख्यामा सेवाग्राही सेवा लिन आउने गरेका छन् । जसका कारण संक्रमणको जोखिम बढेको छ । सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न सेवा क्षेत्र खुला गर्ने सरकारी नीति भएपछि असवाधानीका कारण कार्यालयका कर्मचारीहरुमा संक्रमण देखिन थालेको छ । कैलाली मालपोतमा पनि एक जना कर्मचारी संक्रमित भएका छन् ।

मालपोत कार्यालय कैलालीमा सेवा लिन दैनिक सयौंको संख्यामा सेवाग्राही आउने गरेका छन् । असोज १ गतेबाट मालपोत कार्यालयले काम शुरु गरेसँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड हुन थालेको हो । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न भने पनि कैलाली मालपोतमा त्यसको पालना हुन नसकेको सेवाग्रहीहरुको गुनासो छ । सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रदेशको मुख्य शहर धनगढीमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको आंकलन भइरहे पनि मालपोत कार्यालयको भिडले गिज्याइरहेको छ । सेवाग्राहीहरु संक्राणभन्दा काम समयमा सम्पन्न नहुँला समस्या हुने गरेको बताउँछन् ।
मालपोत कार्यालय कैलालीले न त गेटमा ज्वरो नाप्ने गरेको छ, न त स्यानिटाइजरकै व्यवस्था गरेको छ । सेवाग्राही पनि मास्क समेत नलगाई लाइनमा ठेलमठेल गरेर उभिएका छन् । कार्यालयका अधिकारीहरु भिडभाड व्यवस्थापन र भौतिक दूरी कायम गराउन खोजे पनि सम्भव नभएको बताउँछन् । कार्यालयका एक जनामा संक्रमण देखिएपछि तीन दिन कार्यालय शिल गरेका कारण पनि सेवाग्राहीको भिडभाड बढेको हुन सक्ने कार्यालयका प्रमुख सुरेन्द्र केसीले बताए । भिडभाड नियन्त्रणका लागि अहिले दैनिक ७० जनालाई मात्रै सेवा दिने गरी टोकन प्रणाली सुरु गरिएको प्रमुख केसीले बताए ।

अहिले मालपोत कार्यालयमा जग्गा किनबेच, रोक्का, फुकुवा जस्ता कामका लागि सेवाग्राही आउने गरेका छन् । आम नागरिकमा कोरोनाको डरभन्दा कामको चिन्ता बढी देखिएको छ । कोरोना महामारीको संक्रमण बढीरहेका बेला यसरी सरकारी कार्यालयहरुमा हुने भिडभाडले भयावह अवस्था आउने निश्चित छ । संक्रमण जोखिम कम गर्न सेवा दिने कार्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सेवाग्राहीलाई समेत त्यसको पालना गर्न सचेत बनाउनु पर्ने देखिन्छ ।





























प्रतिक्रिया