जहाँ बाँदरका लागि वनमै एक हजार ५०० फलफूलका बिरुवा रोपिए !

जहाँ बाँदरका लागि वनमै एक हजार ५०० फलफूलका बिरुवा रोपिए !

केन्द्रबिन्दु
0
Shares

महोत्तरी ।

बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण शुरु गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण शुरु गरेको हो ।

यस अभियान अन्तर्गत यसपालि बर्खामा एक हजार ५०० फलफूलका बिरुवा रोपिएको समितिका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए । “वनमा खानेकुरा नभएपछि बाँदर बस्ती पस्ने हुन्”, अध्यक्ष न्यौपानेले भने, “हामीले बाँदरका मन पर्ने फल वनमा भेटिउन् भनेर यस पालिदेखि सघन फलफूल रोपण शुरु गरेका हौँ ।” यस क्रममा यसपालि गएको बर्खामा अम्बा, अमला, जामुन, फडिर र महुवा गरी एक हजार ५०० बिरुवा रोपिएको न्यौपानेको भनाइ छ ।

अबको दुई वर्षपछि वनमै फल लटरम्म फल्न थालेपछि बाँदर, अन्य शाकाहारी वन्यजन्तु र चराचुरुङ्गी वनमै रमाउने समितिको ठम्याइ छ । नयाँ फलफूल र अन्य वनस्पति रोपिएसँगै वन क्षेत्र घना हुँदै जाने र वन्यजन्तु त्यहीँ रमाउने अध्यक्ष न्यौपाने बताउँछन् ।

बर्दिवास–१ को अति व्यस्त बर्दिवास चोकबाट ५०० मिटर मात्र उत्तरमा पर्ने यो वन क्षेत्र ४४ हेक्टरमा फैलिएको छ । यसपालि बर्खामा लगाइएका फलका बिरुवा र गल्छी पहिरो रोकथामका लागि रोपिएका ७५० झ्याङ बाँस सबै सरेर हलक्क बढेको न्यौपाने बताउँछन् । वन क्षेत्र हराभरा भएपछि मुख्य चोकको सौन्दर्य अझ बढेको बर्दिवासवासी बताउँछन् ।

समितिले वन सुरक्षाका लागि एक जना वन हेरालु नै नियुक्त गरेको छ । जिल्लाका अन्य भेगका वन क्षेत्र जताततै अतिक्रमणको चपेटामा परे पनि आफ्नो वन भने सुरक्षित रहेको न्यौपानेको जिकिर छ । “हामीले वनलाई मानव प्रवेश निषेध बनाएका छौँ” न्यौपाने भन्छन् , “प्रत्येक वर्ष हिउँदमा बाँस भने उपभोक्तालाई उपलब्ध गराउँछौँ ।” बाँसको झ्याङ निकै बढेपछि नयाँ तामा नफस्टाउने र अन्य वनस्पति पनि बाँसको छायाँमा नबढ्ने भएको हुँदा बर्सेनि केही बाँस छासेर उपभोक्तालाई दिने गरिएको समितिले स्पष्ट पारेको छ ।

सुरक्षा प्रबन्ध राम्रो भएपछि वनक्षेत्र सघन र मनोरम बन्दै गएको नगरवासी बताउँछन् । एक दशकअघि नाङ्गो डाँडा भनेर चिनिने यो वन क्षेत्रमा अहिले मयुर र अन्य चराचुरुङ्गी ह्वात्तै बढेका छन् । “घर नजिकैको पाखामा मयुरका जोडी नाचेको देखिन्छ, थरीथरीका रङ्गीचङ्गी चरा फुरफुर गर्दै उडेका देखिन्छन्”, वन नजिकैको बस्तीकी गृहिणी राधा गौतम भन्छिन् , “पछिल्ला केही वर्ष यताका वन सुरक्षाका सकारात्मक प्रयत्नले वनक्षेत्र फेरि हराभरा देखिन थालेको छ ।”

समितिको सकारात्मक प्रयत्नले प्रदेश–२ सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पनि साथ पाएको छ । मन्त्रालयले गल्छी र पहिरो नियन्त्रणका उपाय अवलम्बन गर्न उपलब्ध गराएको रु २४ लाख ९५ हजारले वनक्षेत्रका तीनवटा खोल्सीमा चेकड्याम (छहरा बाँध) र एउटा पोखरी निर्माण भएको वन समितिकै उपभोक्ता रहेका बर्दिवास–१ का वडाध्यक्ष चूडामणि पोखरेल बताउँछन् ।

“यो वन क्षेत्रभित्र पानी खोल्सी, साँपमारा र पाटा (बलवनी) समेत तीनवटा मुख्य खोल्सी छन्”, वडाध्यक्ष पोखरेलले भने, “यी खोल्सीमा सघन बाँस रोपण, मानव प्रवेश निषेध र चेकड्याम बनेपछि पहिरो लडेर गेगर्यान बस्ती पस्न कम भएको छ ।” यसपालि धेरै पानी परेको बर्खामा विगत वर्ष जस्तो गेगर्यान पसेर घर नलडाएको पोखरेल बताउँछन् । बरु यसपालि त सबै खोल्सीमा एक दशकपछि कञ्चन पानी बगिरहेको देख्दा मन प्रफुल्ल हुने गरेको पोखरेलसहित बर्दिवास–१ का बासिन्दा बताउँछन् ।

चिहानडाँडा वन उपभोक्ता समितिले वन क्षेत्रको सुरक्षा र सम्वर्धनमा नमूना काम गरिरहेको डिभिजन वन कार्यालय महोत्तरीको पनि मूल्याङ्कन छ । “चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण र सम्वर्धनमा राम्रो चासो बढाएको छ”, डिभिजन प्रमुख हेमन्तप्रसाद शाहले भने, “हामीले यी सकारात्मक चासोमा सहयोग बढाएका छौँ ।” समितिले सुरक्षाको प्रत्याभूति दिन थालेपछि कार्यालयले नयाँ बिरुवा रोपणका लागि माग अनुसार बिरुवा दिँदै आएको साह बताउँछन् ।

Skip This
Skip This
Logo