दशैँको मुखमा उपभोग्य वस्तुको भाउ ‘अचाक्ली’ बढ्याे, के भन्छन् व्यापारी र सरकारी अधिकारी?

दशैँको मुखमा उपभोग्य वस्तुको भाउ ‘अचाक्ली’ बढ्याे, के भन्छन् व्यापारी र सरकारी अधिकारी?

केन्द्रबिन्दु
0
Shares

कोभिड महामारीबीच नेपालीहरूका मुख्य चाडपर्व नजिकिएका बेला कतिपय दैनिक उपभोग्य वस्तुको भाउ "अचाक्ली बढेको" उपभोक्ताहरूले गुनासो गरेका छन्। उनीहरूका भनाइमा खाने तेल, दाल, खाद्यान्न, हरियो तरकारीजस्ता वस्तुको भाउ बढेको छ।

व्यापारी र उत्पादकहरूले पनि केही उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्वीकारेका छन्। त्यसको कारण महामारी, चर्को कर र कच्चा पदार्थको मूल्यवृद्धि भएको दाबी उनीहरूको छ। सरकारी अधिकारीहरू चाहिँ भाउ नियन्त्रणका कदमहरू चालिएको दाबी गर्छन्।

कस्ता वस्तुमा मूल्यवृद्धि?

विभिन्न सरकारी निकाय तथा व्यापारीहरूका संस्थाले सार्वजनिक गरेका विवरण हेर्दा विशेषगरी तरकारी र खाद्यान्नको मूल्यवृद्धि भएको देखिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरण हेर्दा विगत एक महिनामा ३० भन्दा बढी प्रकारका तरकारी र फलफूलको भाउ केही प्रतिशतदेखि दुई गुनासम्म बढेको छ।

समितिको विवरणअनुसार विशेषगरी हरिया मौसमी तरकारी र फलफूल एवं प्याज र लसुनजस्ता वस्तुको भाउ निकै बढेको छ। त्यस्तै नेपाल खुद्रा व्यापार सङ्घको मूल्य सूची हेर्दा चामल, दालदेखि खाने तेलसम्मको भाउ बढेको देखिन्छ। त्यसमध्ये खाने तेल निकै महँगो भएको छ।

'भाउ बढाउने अरू, गाली खाने हामी'

खुद्रा व्यापार सङ्घका सचिव अमूलकाजी तुलाधर गत वर्षको तुलनामा खाद्यान्न, दाल र तेलको भाउ बढेको स्वीकार्छन्। तर उनी चाडवार्ड आउन लागेर व्यापारीले भाउ नबढाएको बरु "आयातकर्ता र उत्पादकले नै बढाएकाले मूल्यवृद्धि भएको" बताउँछन्।

तुलाधरले भने, "उपभोक्तामा चाडपर्वको बेला व्यापारी भाउ बढाइहाल्छन् भन्ने मानसिकता छ। तर यो मूल्यवृद्धि चाडपर्वले भएको होइन।"

"अहिले पछिल्लो वर्षभन्दा भाउ बढेकै छ। त्यसमा तेलको भाउ बढेको कुरा त चर्चाकै विषय भएको छ नि! आयातकर्ता र उत्पादकले नै बढाएकाले बजारमा पनि बढेर आएको हो।" उनका अनुसार चामल उत्पादक र थोक विक्रेताले पनि गोदामको भाडा बढेको भन्दै चामलको भाउ केही बढाएका छन्।

उनी भन्छन्, "भाउ बढेर आएपछि हामीले त्यसै अनुसार बेच्नैपर्‍यो। उपभोक्ताको सबैभन्दा नजिक बसेर काम गर्ने हामी नै हौँ। अनि भाउ बढ्ने बित्तिकै 'खुद्रा पसलेले भाउ बढायो' भनेर हामीलाई नै ढुङ्गा हान्न आउँछन्। धेरैले कुरा बुझ्दैनन्।"

"सबैभन्दा अप्ठ्यारो खुद्रा व्यापारमै पर्छ। उपभोक्ताले पनि हामीलाई नै गाली गर्छन्। अनुगमन पनि हाम्रै हुन्छ। आयातकर्ता र उत्पादकको अनुगमन हुँदैन।"

उत्पादक के भन्छन्?

खुद्रा विक्रेताले उत्पादक र आयातकर्ताले नै मूल्य बढाएको बताएपछि बीबीसीले उत्पादकहरूसँग सम्पर्क गरेर त्यसको कारण सोधेको थियो।

अहिले सबैभन्दा धेरै भाउ बढेको भनेर चर्चामा रहेको खाने तेलको मूल्यवृद्धिबारे सोधिएको प्रश्नमा नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका निवर्तमान अध्यक्ष विकास दुगडले "कच्चा पदार्थको भाउ बढ्दा" यस्तो अवस्था आएको बताए।

उनले भने, "हाम्रोमा उत्पादन हुने सबै खाले खाने तेलका लागि कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाटै ल्याउनु पर्छ। कच्चा तेलको भाउ अन्तर्राष्ट्रिय बजारमा बढ्यो भने यहाँ पनि बढ्छ, घट्यो भने यहाँ पनि घट्छ।"

"त्यसैले हामीले बढाएर बढ्ने होइन। कतिले कृत्रिम अभावले भनेका छन् तर नेपालमा महामारीका बेलामा पनि कहिल्यै खाने तेलको अभाव भएको छैन। त्यसैले गर्दा यसको सम्बन्ध भनेकै कच्चा तेलको भाउसँग मात्र छ।"

दुगडका अनुसार नेपालमा भटमासको तेलका लागि कच्चा तेल आर्जेन्टिना र ब्रजिलबाट आउँछ भने सूर्यमुखीका लागि युक्रेन र आर्जेन्टिनाबाट आउँछ। त्यस्तै कच्चा पाम तेल इन्डोनेशिया र मलेशियाबाट आयात हुन्छ। उनका भनाइमा तेल उत्पादक देशहरूमा देखिएको सुक्खा र कोभिड महामारीले कच्चा तेलको भाउ बढेको हो।

दुगड विगत एक वर्षमा भटमास र सूर्यमुखीको कच्चा तेलको भाउ दोबरभन्दा पनि बढी भएको बताउँछन्। त्यसका साथै अन्य कच्चा पदार्थको भाउ पनि बढ्दा नेपालमा उत्पादन लागत निकै वृद्धि भएको उनको तर्क छ।

उनी कच्चा पदार्थमा बढेको मूल्य र कोभिड महामारीका कारण प्रतिलिटर तेलमा कर नै करिब ४५ रुपैयाँ र ढुवानी खर्च नै २० देखि २५ रुपैयाँ बढेकाले भाउ उकालो लागेको बताउँछन्।

चाडपर्व आउन लाग्दा नेपालमा प्रत्येक वर्ष भाउ बढ्ने गरेको उपभोक्ता अधिकारकर्मीको दाबी छ।उपभोक्ताको अधिकारको क्षेत्रमा सक्रिय विमला खनाल भन्छिन्, "अहिले त नेपालमा कसैलाई मूल्यवृद्धिको चिन्तै छैन। दैनिक उपभोग्य वस्तु मात्र होइन अहिले हरेक वस्तुको भाउ अचाक्ली नै बढेको छ।"

"अहिले स्थानीय तह पनि सक्रिय हुनुपर्ने हो। तर तीन वटै तहका सरकार सुतेर बसेका छन्। उनीहरू गलत तरिकाबाट आर्थिक लाभ लिने कार्यमा मात्र उद्यत भएको जस्तो देखिन्छ।"

नेपालमा मूल्यको अनुगमन र विश्लेषण गर्ने छुट्टै निकाय बनाउनुपर्ने आवश्यकता भइसकेको खनालको भनाइ छ। त्यस्तो निकायलाई कारबाहीको अधिकारसमेत दिनुपर्ने अनि मात्र मूल्य नियमन हुनसक्ने उनी बताउँछिन्।

"एउटा बलियो मूल्य नियमन गर्ने निकाय नभईकन अब नेपालमा मूल्यवृद्धिलाई स्थिर राख्ने वा रोक्ने भन्ने कुरा सम्भव छैन। धेरै वटा काम दिइएको निकायलाई उपभोक्ताको हित पनि हेर भनेर मात्र हुँदैन," खनालले भनिन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरू मूल्यवृद्धिबारे नियमित अनुगमन र नियमन भइरहेको बताउँछन्। उनीहरूका भनाइमा अहिले विभागले नियमित बजार अनुगमन गरिरहेको छ र कसैले कृत्रिम मूल्यवृद्धि गरेको भेटिएमा कारबाही पनि गरिएको छ।

महामारी र अन्य कारणले कच्चा पदार्थ वा अन्य कुराको भाउ बढेर उत्पादन लागत बढेको अवस्थामा केही वस्तुको मूल्यवृद्धि भएको पाइएको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईँले बताए।

उनी विभिन्न उपभोग्य वस्तुको उत्पादन लागत र मूल्य हेरेर कुनैमा कानुनले तोकेकोभन्दा बढी नाफा राखिएको भेटिए त्यस्ता उत्पादकलाई कारबाही गरिने बताउँछन्। उनले भने, "बजार र उपभोक्ता बहुसरोकारयुक्त विषय हो त्यसैले विभागले चाहेर मात्र नहुने भएकाले हामीले सबै क्षेत्रसँग छलफल गर्ने र अनुगमन गर्ने काम गरिरहेका छौँ।"

"हाम्रो देशले खुला बजार अर्थतन्त्र अपनाएको हुनाले सबै वस्तुको मूल्य सरकारले निर्धारण गर्न त सक्दैन, तर कुनै पनि वस्तुको लागत हेरेर त्यसमा कानुनले तोकेकोभन्दा बढी नाफा लिएको रहेछ भने कानुनको दायरामा ल्याउने काम विभागले गरिरहेको छ।"

सेढाईँले चाडपर्व आउन लागेकाले विभागले विभिन्न सरोकारवालालाई बोलाएर छलफल गरी दशैँतिहारका बेला विशेष छुट र सुविधा दिन पनि आग्रह गरेको बताए। त्यसअनुसार कतिपय व्यावसायिक सङ्घसंस्थाले दशैँतिहारमा खपत हुने वस्तुको अधिकतम मूल्य तोक्न सहमत भएको उनी बताउँछन्।बीबीसीबाट

Skip This
Skip This
Logo