कांग्रेसभित्र चर्को विवाददेखि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने सांसदको मागसम्म (भिडियोसहित)

कांग्रेसभित्र चर्को विवाददेखि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने सांसदको मागसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता र केही पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले हस्ताक्षरसहित विरोध पत्र केन्द्रीय कार्यालयमा बुझाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई हस्ताक्षरसहितको विरोध पत्र बुझाएका हुन् ।

त्यस्तै तेजाब आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्था सहितको कानुनी व्यवस्था गर्न सरकारले अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सोमबार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्याविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गरिएको हो । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ नयाँ हो भने फौजदारी कसूर तथा फैजारी कार्याविधि सम्बन्धि ऐन संशोधन गर्ने अध्यादेश हो ।

नेकपाभित्रको शक्ति सन्तुलन मिलाउन गर्ने भनिएको मन्त्रिमण्डल पुनर्गठनको काम अझै अन्योलमा रहेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुट्न नसक्दा मन्त्रिमण्डल पुनर्गठनमा अझै अन्योलता देखिएको हो । गत भदौ २६ गते सकिएको नेकपाको स्थायी कमिटी बैठकले आवश्यकताअनुुसार संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्न निर्देशन दिएको थियो ।

त्यस्तैगरी नेपालीहरुको महान चार्ड बडा दशैं नजिकिदै आएपनि यातायात क्षेत्रमा कुनै रौनक देखिएको छैन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले यातायात क्षेत्रमा उच्च स्वास्थ्य प्रोटोकल अपनाउनुपर्ने नियम बनाएसँगै यातायात क्षेत्रमा दशैंको मुखमा पनि रौनक नदेखिएको हो ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । विभिन्न राजनीतिक दलबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुको भेलामा सहभागीहरुले संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि समेत संशोधन गरी मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo