काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरले केही दिन अगाडि पाएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा तत्काल लागू नगर्न निर्देशन दिएका छन् ।
हिमालयन एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सुविधा दिएको नागरिक उड्डयन प्राधिकरणले मन्त्रालयसँग कुनै पनि छलफल नै नगरी जिम्मा दिएको भन्दै मन्त्री भट्टराईले तत्काल निर्णय कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् ।
आइतबार प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा नै बोलाएर मन्त्रालयका सचिव केदार बहादुर अधिकारीलाई समेत सँगै राखेर मन्त्री भट्टराईले हिमालयनलाई दिईएको अनुमति बारे जानकारी लिएका थिए । मन्त्री भट्टराईले पर्यटन मन्त्रालय र मन्त्रालयका उच्च अधिकारीहरुलाई समेत थाहा नै नदिई प्राधिकरणले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
मन्त्री तथा मन्त्रालयको उच्च तहलाई पूर्वजानकारी नदिई र मन्त्रालयबाट सहमति नलिई किन निर्णय गरियो भन्दै मन्त्री भट्टराईले महानिर्देशक पोखरलसँग जवाफ मागेका थिए । प्रश्नको जवाफमा महानिर्देशकले हिमालयनले बुझाएको कागजात हेरेर नै उसलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिने निर्णय लिईएको बताएका थिए ।
मन्त्रालयमा भएको छलफलपछि मन्त्री भट्टराईले अहिलेलाई उक्त निर्णय कार्यान्वयन नगर्न र हिमालयनको प्राविधिक क्षमता, व्यवसायिक प्रस्ताव, जनशक्तिसहित चौतर्फी विषयको अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।
एयर इण्डियन र थाई एयरवेजको पनि सेल्फ ग्राउण्ड ह्याण्डलिङको लागि उपयुक्त प्रक्रिया पूरा भए नभएको अध्ययन गर्न समेत निर्देशन दिएका छन् । अध्ययन गर्दा प्रक्रिया नपुगेकालाई निर्देशिकामा उल्लेख भए अनुसारको मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ सुविधा लिएका अरु कुनै एयरलाइन्स भए तिनको पनि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा खोसेर तुरुन्त नेपाल एयरलाइन्सलाई जिम्मा दिनसमेत मन्त्री भट्टराईले निर्देशन दिएका छन् । यती समुहको लगानी रहेको हिमालयनलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ दिएको भन्दै सबै तिरबाट बिरोध हुदै आएको छ ।
ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एयरलाइन्स कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सुविधा दिन सकिने व्यवस्था रहेको छ । हिमालयनले प्राधिकरणमा बुझाएको प्रस्तावमा हप्तामा ४५ उडान अनुमति पाएको तथा ग्राउण्ड ह्याण्डलिङको लागि व्यवस्थापन क्षमता भएको भन्दै एयरलाइन्सले प्राधिकरणमा आवेदन गरेको थियो ।





























प्रतिक्रिया