बेमौसमी वर्षाका कारण तीन प्रदेशमा मात्रै ७ अर्ब २२ करोडको धानबाली नष्ट

बेमौसमी वर्षाका कारण तीन प्रदेशमा मात्रै ७ अर्ब २२ करोडको धानबाली नष्ट


असोज ३१ गतेदेखि निरन्तररुपमा तीन दिन बेमौसमी वर्षा भयो। बेमौसमी वर्षाका कारण धेरै धनजनको समेत क्षति भएको छ।

बेमौसमी वर्षाका कारण मुख्यगरी नेपालका तीन वटा प्रदेशमा मात्रै ७ अर्ब २२ करोड भन्दा बढीको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको प्रारम्भिक अनुमानित प्रतिवेदन अनुसार तीन वटा प्रदेशमा मात्रै सबैभन्दा बढी धानबाली बाढीले क्षति पुर्याएको छ। प्रतिवेदन अनुसार सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक अनुमानित विवरणअनुसार तीन प्रदेशमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढीले क्षति पुर्याएको हो।

क्षतिको अनुमानित रकममा मूल्यांकन ७ अर्ब २२ करोड रुपैयाँ हाराहारी रहेको छ। वर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने सामान्य असर मात्रै पुर्याएको मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेशका चार जिल्ला बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही धेरै प्रभावित बनेका छन्। लुम्बिनी प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ। 

प्रदेशभर ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा वर्षाले क्षति पुर्याएको छ। प्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगे पनि क्षति भने १८ हजार हेक्टरमा मात्रै छ । सुदूरपश्चिम प्रदेशमा एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार ४ सय मेट्रिक धानमा असर देखिएको छ। 

मन्त्रालयका अनुसार प्रदेश १ को ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा वर्षाको असर र क्षति देखिएको छ। प्रदेशमा ८० करोड रुपैयाँ बराबरको २८ हजार ४६९ मेट्रिकटन पाकेको धानमा क्षति पुगेको छ । वर्षाका कारण सातै प्रदेशमा असर पुगेको र सबै प्रदेशबाट तथ्यांक आइनसकेको पनि मन्त्रालयले जनाएको छ।

Logo