गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक केन्द्रको रूपमा अगाडि बढेको छ: गृहमन्त्री खाण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक केन्द्रको रूपमा अगाडि बढेको छ: गृहमन्त्री खाण


गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक केन्द्रको रूपमा अगाडि बढेको बताएका छन्। 

भैरहवामा निर्माणाधीन विमानस्थलको अवलोकन गर्दै खाणले विमानस्थल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै यो हवाई उडानका लागि मात्र नभई पर्यटन आगमन र आर्थिक केन्द्रको रूपमा अगाडी बढेको बताए। 

उनले थाई सरकारले अहिले आफ्ना नागरिकलाई विदेश जान फुकुवा गरेकोले एरो थाईले क्यालिब्रेशन फ्लाइट गर्ने र नगरे भारत सरकारसँग जिटुजी माध्यमबाट क्यलिब्रेशन फ्लाइट गर्न प्रक्रिया अघि बढेकोले छिट्टै क्यालिब्रेशन उडान हुने आश्वासन दिए।
 
गृहमन्त्री खाणले विमानस्थलको सुरक्षाप्रति गृह मन्त्रालय र सुरक्षा निकाय गम्भीर रहेको बताउँदै  विमानस्थल आउने यात्रुहरूलाई विमानस्थल सुरक्षित छ भनेर अनुभूति दिलाएर फर्काउने कुरामा गम्भीर रहेको बताए । ‘त्रिपाल टाँगेर भए पनि विमानस्थलमा सुरक्षा प्रदान गर्छौं, सुरक्षा निकायका लागि आवश्यक भवनको निम्ति स्थान छुट्याउनुहोला, तर भवन बिना पनि त्रिपाल टाँगेर भए पनि विमानस्थलमा सुरक्षाको व्यवस्था गरिनेछ,’ उनले भने।

उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा,  सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कूलप्रसाद न्यौपानेले तत्कालको लागि क्यालिब्रेशन फ्लाइट नै आवश्यक रहेकोले सरकारले तदारुकता देखाउन आग्रह गरे। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशतभन्दा बढी रहेको पनि केही परीक्षण त्यससँग लिङ्क भएको काम बाँकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी गराए। 

१५ जनवरी २०१५ मा सुरु भएको आयोजना एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी अर्थात् ६ अर्ब ८२ करोडको ६ अर्ब ८२ करोड ४० लाख ८६ हजार ८ सय ८४ रुपैयाँ ३२ पैसाको लगानीमा बन्दैछ। 

निर्माणाधीन आइसिबी १ स्तरको विमानस्थल चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ। यस्तै आईसिबी–२ अन्तर्गत विमानस्थलमा जडान हुने उपकरणहरूका लागि पनि करिब ५० करोड लगानी छ, आईसिबी–२ अन्तर्गतको काम थाइल्यान्डको एरो थाई कम्पनीले गरिरहेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको छ। अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए। 

प्रमुख इन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङभित्रको फन्सिलिङसँग रिलेटेड कामहरु र फर्निचर फर्निसिङ्सका कामहरु मुख्य बाँकी छन्। उनले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरु कोरोना भाइरसका कारण थाइल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकाले अड्किएको बताए। प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाइल्याण्ड सरकारसँग कुटनीतिक पहल थालेको पनि प्रमुख इन्जिनियर अधिकारीले बताए।

प्रमुख इन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभरुपमा सानो भएको सरकारको अनुमान रहेकोले यसलाई ठूलो बनाउनु पर्ने विषयमा अध्ययन भइरहेको बताए। उनले यो टर्मिनल बिल्डिङले मात्र ४ सय सेवाग्राहीलाई मात्र सेवा दिन सक्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको बताए। प्रमुख इन्जिनियर अधिकारीले अहिलेका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउने हो भने हप्ता, १० दिनमै सबै काम सकिने बताए।

प्रमुख इन्जिनियर अधिकारीले विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नस्क्दा क्यालिब्रेशन फ्लाइट अनिश्चित बनेको बताए। विमानस्थलमा क्यालिब्रेशन फ्लाइट भएको करिव तीन महिनापछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जनाइएको छ। राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्न क्यालिब्रेशन फ्लाइट गरिन्छ। 

Logo