भेडी गोठाले लिलप्रसाद, जसले करोड डुब्दा पनि छाेडेनन् व्यवसाय

भेडी गोठाले लिलप्रसाद, जसले करोड डुब्दा पनि छाेडेनन् व्यवसाय

केन्द्रबिन्दु
0
Shares

साथीसँगी स्कुल जाँदा उनी भेडा डोर्‍याएर खर्कतिर उक्लिए। गुरुङ समुदायमा लाहुर जान गाह्रो थिएन। लाहुरबाटै मनग्गे आम्दानी गर्न सकिन्थ्यो। उनकै आँखाअगाडि साथीहरू बेलायती, भारतीय सेनामा भर्ती भए। उनले अरु इलम सोचेनन्। बथानमा भेडा थप्ने र डाँडा डुलाउने सपना मात्र देखे। सानै उमेरदेखि खर्क डुलेका सिक्लेसका लिलप्रसाद गुरुङ डेढ दशकदेखि भने व्यवसायिकरूपमै भेडापालक किसान बनेका छन्। गुरुङ समुदायमा भेडा अनिवार्य जनावर हो। लेकतिर उनका आफ्नै भेडीगोठ छन्। गोठभरी भेडा छन्। तर, गएको १ असार उनका लागि कालो दिन बन्यो।

घरघोर वर्षा। निमेषभरमै बगे ३२६ भेडा र ३ वटा भोटे कुकुर। १४ वर्षदेखि भेडीगोठ चलाउँदै आएका लिलप्रसादको झण्डै करोड सम्पत्ति एकै छिनको बाढीले सखाप पार्‍यो। यति धेरै क्षति भएपछि सायदै मान्छेहरू यही पेसालाई निरन्तरता दिन्छन्। लिलप्रसादले हिम्मत हारेनन्। उनको पाइला थाकिएनन्। बाढीले रित्तिएको गोठ फेरि भर्न थालेका छन्। भेडीगोठाले लेखनाथ गुरुङ र स्थानीय पेउबहादुर गुरुङसँग मिलेर उनले भेडा पालनलाई निरन्तरता दिएका छन्।

म्याग्दी, बागलुङ, लमजुङ र कास्कीकै विभिन्न लेकहरूबाट उनले भेडा संकलन गरेका छन्। हाल दुई सयभन्दा बढी भेडा जम्मा गरिसकेको उनले बताए।

‘लमजुङबाट ४६ वटा ल्याएँ। माछापुच्छ्रे र अरु ठाउँबाट १५० जति जम्मा गरेँ’, उनले भने, ‘ऋण खोजेर चलाइरहेको छु। थोरैले गोठ चलाएर फाइदा छैन। धेरै जम्मा गरौं भने लगानी गर्ने पैसा छैन। विस्तारै थप्दै जान्छु।’

वर्षमा पाँच लाख हाराहारी आम्दानी गर्ने उनले सुनाए। ‘५ लाख त जसरी पनि हुन्छ। हिउँदमा बढी किन्छन्। दसैंतिहारमा पनि खोज्छन्। लगानी बढाउन सके घाटा चाहिँ छैन’, उनले अघि भने, ‘जे कुरा पनि पैसा नै रहेछ। पैसा कमाउन पनि सुरु मै पैसा चाहिने रहेछ। हामी पैसा नहुनेले गर्ने काम चाहिँ केही नहुने क्या।’

भेडा गुरुङ समुदायको परम्परा हो। ‘सबै चाडवाडमा भेडा नभई हुँदैन। अहिले भेडा पाल्नेहरू छैनन्’,  सिक्लेसका स्थानीय देवीजंग गुरुङले भने, ‘लिलप्रसादबाहेक कसैले पालेका छैनन्। उनले पनि छोडे भने धेरै समस्या पर्छ। त्यसैले गाउँलेले पनि उनलाई प्रोत्साहन गरेका छन्।’

उनका अनुसार भेडा पालनलाई व्यावसायिकतासँगै संस्कृति जगेर्नाको रूपमा पनि लिने गरिन्छ। लिलप्रसादले भेडा खरिदमा २८ लाखभन्दा बढी खर्च गरिसकेका छन्। ‘जीनव नै भेडाको पछि लागेर बित्यो। यो उमेरमा फेरि के काम गर्ने ?,’ दु:ख मान्दै उनले भने, ‘जानेकै यही हो। घाटा लाग्यो भनेर जानेको काम छोड्नु कसरी?’

लिलप्रसादको भेडा बगेको समाचार सुनेपछि सिक्लेसमा जन्मिएर युके बस्दै आएकाहरूको मन पोल्यो। अनि पीडामा मलम लगाउन सहयोग अभियान सुरु गरे। प्रत्येक सहयोगीले एउटा भेडाको मुल्य बराबर सहयोग गर्ने गरी रकम उठाएर करिब आठ लाख नगद उनीहरूले सहयोग पठाएका छन्।

गाउँलेले पनि उनका लागि सहयोग जुटाएका थिए। आधुनिकतासँगै हिजाेआज गण्डकीका उच्च पहाडी क्षेत्रमा भेडा पाल्ने प्रचलन घट्दै गएको छ। सरकारले भेडापालनमा सहयोग र अनुदान बढाएपनि किसान छैनन्। भेडापालन व्यवसाय आफैँमा चुनौतीपूर्ण छ।

‘लेकमा एक्लै बस्नुपर्छ। नयाँ पुस्तामा भेडा पाल्ने सोच छैन। गोठाले पाउनै मुस्किल छ’, कास्कीका पशु प्राविधिक सुरेशकुमार श्रेष्ठले भने, ‘सकेसम्म हाम्रोतर्फबाट प्रोत्साहन गरिरहेका छौं।’ चरन क्षेत्रको समस्याले भेडा पालन लोप हुन थालेको हो। कास्की, म्याग्दी, पर्वत, गोरखालगायत जिल्लाका उच्च पहाडी र मनाङ, मुस्ताङ र बागलुङमा बढी भेडापालन हुँदै आएको थियो।न्युज कारखाना

Skip This
Skip This
Logo