काठमाडौं ।
वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यका काँठ चक्रपथको कामलाई तत्काल शुरु गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार केन्द्र र स्थानीय सरकारहरुसँगको समेत सहकार्यमा आगामी तिहार अघिदेखि नै काम शुरु गर्ने गरी तयारी थालिएको छ ।
कूल एकसय आठ किलोमिटर लम्बाईको चक्रपथ निर्माणको काम छ वटा खण्डमा गरिने जनाइएको छ । कामको बाँडफाँट अनुसार स्थानीय सरकारले केही स्थानमा नाला निर्माणको काम गरिसकेको तथा प्रदेश सरकारले करिब एक किलोमिटर सडक ढलान निर्माणको काम सकेको तथा चक्रपथमा पर्ने दुई पुलसमेत बनिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए ।
उपत्यकाका काँठ क्षेत्र समेट्ने गरी चक्रपथको निर्माण गर्ने आफूहरुको ३० वर्ष अघि देखिको सपना रहेको भन्दै उनले लामो र ठूलो सपना बोकेको उक्त चक्रपथ निर्माणको कामले अब निरन्तरता पाउने बताए। चक्रपथले काँठ क्षेत्रको संस्कृति, भाषा र आपसी सम्बन्ध विस्तारमा सहयोग गर्नुका साथै आर्थिक एवं सामाजिक विकासमा टेवा पु¥याउने, पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । उनले चक्रपथको निर्माणपछि उपत्यकाको नजिक भएर पनि विपन्न भएर बाँच्न वाध्य काँठ क्षेत्रको आर्थिक अवस्था सुधार हुने बताए।
मन्त्री फुँयालले केही दिन अघि काँठ चक्रपथ अन्तर्गत पर्ने तारकेश्वर नगरपालिकाको वडा नं. १ र २ का साथै टोखा नगरपालिकामा पर्ने मालुङ, साङला र जितपुर क्षेत्रको अनुगमसमेत गरेका थिए । अनुगमनका क्रममा तारकेश्वर र टोखा नगरप्रमुखलाई आफ्नो क्षेत्रमा पर्ने सडकखण्डको निर्माण गर्न प्रतिवद्ध रहन तथा आवश्यक बजेटका लागि सहज वातावरण निर्माण गर्न उनले अनुरोध गरेका थिए।































प्रतिक्रिया