एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई

एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई

केन्द्रबिन्दु
0
Shares

संस्थागत सुशासन, दिगो विकासमा योगदान, ‘डिजिटल’ प्रविधिको उपयोग गर्दै नवीनतम सेवा प्रवाह र उत्पादन गरेवापत एनएमबी बैंक एशियाको उत्कृष्ट बैंक बन्न सफल भएको छ। 

बेलायतको लण्डनबाट प्रकाशन हुने प्रसिद्ध समाचारपत्र ‘द बैंकर’को निर्णायक मण्डलले एनएमबीलाई ‘द बैंक अफ द इयर २०२१’ प्रदान गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सञ्चालक समितिका सदस्यलाई सामूहिकरूपमा उक्त सम्मान हस्तान्तरण गरे। 

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको बैंक तथा वित्तीय क्षेत्रको विकासका साथै हरित उद्यम प्रवर्द्धनमा योगदान गरेबापत विश्व प्रसिद्ध सम्मान प्राप्त गरी नेपालको ‘बैंकिङ’ इतिहासमा नयाँ अध्याय प्रारम्भ गरेकामा बैंकमा आबद्ध सबैप्रति बधाई ज्ञापन गरे। राष्ट्रको अर्थतन्त्र उजिल्याउन थप मेहनतका साथ काम गर्न पनि उनले बैंक व्यवस्थापनलाई सुझाव दिए। 

अध्यक्ष गोल्यानले कृषि क्षेत्रको व्यवसायिकीकरण, पर्यटनको दिगो विकास, जलविद्युत्लगायत स्वच्छ ऊर्जाको प्रवर्द्धनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै देशको आर्थिक उन्नयनलाई केन्द्रमा राखेर एनएमबी बैंकले काम गरिरहेको जानकारी दिए। 

प्रमुख कार्यकारी अधिकृत केसीले हालै स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जनलाई शून्यमा झार्ने, हरित, उत्थानशील एवं दिगो विकासमा लाग्न व्यक्त गरेको प्रतिबद्धतामा सहायक भएर अघि बढ्न एनएमबी बैंक प्रतिबद्ध रहेको बताए। 

Logo