प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही

प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही

केन्द्रबिन्दु
0
Shares

नवलपरासी ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का पाँच पसल बढी मूल्यमा प्याज बेचेको अभियोगमा कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीले आफूखुशी मूल्य बढाएर प्याज बिक्री गर्न थालेपछि आइतबार जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको हो ।

प्याजको कालोबजारी गरेको अभियोगमा सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–२ का चार र रामग्राम–७ का एक आलु प्याज गोदाम पसललाई गरी रु दुई लाख ६० हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

बजारमा पछिल्लो समय प्याजको मूल्यमा भारी वृद्धि गरी उपभोक्ता ठगी गरेको गुनासो आएपछि आज सहायक प्रजिअ माझीका नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासङ्घ, रामग्राम नगरपालिकाका प्रतिनिधि तथा सुरक्षाकर्मीसहितको टोलीले बजार अनुगमन गरेको थियो । सहायक प्रजिअ माझीका अनुसार केही दिन अघिसम्म प्याज प्रतिकेजी रु ५० मा बिक्री हुने गरेकामा रु १३० प्रति केजीसम्म पुगेको थियो । अहिले भने प्रति केजी १०० सम्म बिक्री हुने गरेको पाइएको छ । प्रतिकेजी रु ४० मा खरीद गरी रु १०० सम्म विक्री गर्ने गरेको व्यवसायी स्वयंले नै स्वीकार गरेका थिए ।

अनुगमनका क्रममा भूमहीमा पिकअप भ्यानमार्फत बढी मूल्यमा प्याज बिक्री गरिरहेको अवस्थामा रामग्राम–७ को रामग्राम स्टोर्स, रामग्राम–२ को रौनियार स्टोर्स, तारा आलु स्टोर्स र विना दर्ता व्यवसाय सञ्चालन गरेका गणेश रौनियारलाई रु ६० हजारको दरले जरिवाना गरिएको छ । अंश स्टोर्सलाई भने रु २० हजार जरिवाना गरिएको सहायक प्रजिअ माझीले जानकारी दिए।

अधिकांश पसलमा मूल्यसूची, सूचनापाटी, विभिन्न निकायमा दर्ता नवीकरण गरिएका प्रमाणपत्र, बिलबिजक लगायत कागजपत्र नभएको बताइएको छ । केही पसल विनादर्ता पनि सञ्चालनमा रहेको पाइएको छ । उनीहरुलाई सुझावसहित जरिवाना गरिएको र सात दिनभित्र जरिवाना नबुझाएमा थप कारवाही हुने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए । व्यवसायीले दोब्बरभन्दा बढी मूल्य लिएर प्याज विक्री गरिरहेको पाइएको बताउँदै उनले पुरानै मौज्दातको प्याज बिक्री गर्दा पनि मनोमानी मूल्य लिइएको जानकारी दिए ।रासस

Skip This
Skip This
Logo