काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ । आइतबार पेरिसडाँडास्थित नेकपाको कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा आजको सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा राष्ट्रको इज्यत जोगाउने खेलाडीहरु नै राज्यले प्रदान गर्ने सम्मानबाट बन्चित भएका छन् । शनिबार संविधान दिवसको अवसरमा धेरै विधाका व्यक्तिहरुलाई सरकारले विभुषित गर्दा राष्ट्रको इज्यतका लागि भोको पेट खेल्ने खेलाडीहरु सम्मान पाउनबाट बन्चित भएका हुन् । समाजमा कुनै काम नगरेका व्यक्तिहरु विभूषित गर्दा खेलाडीलाई उपेक्षा गरेको भन्दै यतिबेला सर्वत्र आलोचना भएको छ ।
कोभिड–१९ महामारीको अत्याधिक जोखिमकै बीच रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत फर्किने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । गत एक साताको अवधिमा मात्र जमुनाह नाका भएर २५ सय बढी नेपाली भारत फर्किएको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको हो ।
त्यस्तैगरी कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको छ । दर्शनार्थीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु पालना गराउँदै पशुपतिनाथको मन्दिर खुला गरिने भएको हो । दुई दुई मिटरको भौतिक दूरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहँदा सञ्चालनमा आएका सार्वजनिक यातायातको आवतजावत जोखिमपूर्ण बनेको छ । सार्वजनिक सवारीमा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने मापदण्डहरुको पालना नहुँदा संक्रमणको जोखिम बढेको हो । यातायात व्यवस्था विभागले तयार पारेको स्वास्थ्य मापदण्डमा दुई जना बस्ने गरेको एक लहरमा एक जना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया