लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्याे, आम्दानी पनि साढे तीन करोडमा सीमित

लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्याे, आम्दानी पनि साढे तीन करोडमा सीमित

केन्द्रबिन्दु
0
Shares

लमजुङमा यसवर्ष अलैंची उत्पादन घटेकाे छ। करिब ८५ प्रतिशत उत्पादन घट्दा ३५ टनमा सीमित भएकाे छ। अलैंची विक्रीबाट किसानले ३ करोड ५० लाख आम्दानी गरेका छन्।

गत वर्ष लमजुङमा ४ सय टन अलैँची उत्पादन भएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार गतवर्ष लमजुङका अलैंची किसानले ४ सय टन अलैंची दाना विक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए। जिल्लामा खडेरी, सिंचाइको कमी र रोग प्रकोपका कारण यसवर्ष उत्पादनमा भारी गिरावट आएको हो।

लमजुङमा १ हजार ५ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिए पनि खडेरी र रोग प्रकोपका कारण ६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र अलैंची उत्पादन भएको छ। अलैंचीको मूल्य हाल १ हजार १ सय ५० मा बिक्री भएको छ।

अलैंचीका लागि उर्वर क्षेत्र मानिएको जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन्। जिल्लाको भूलभूले, बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायत गाउँका पाखामा व्यवसायिक रुपमा अलैँचीखेती गरिँदै आएको छ।

जिल्लाका अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम सुरु गरिएको छ। जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैंची खेती गरिँदै आएको छ। जिल्लामा १५ हजार कृषकले व्यवसायिक अलैँची खेती गर्दै आएका छन्।

Logo