पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य, उपभोक्ता मारमा

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य, उपभोक्ता मारमा

केन्द्रबिन्दु
0
Shares

डोटी ।

जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ ।

यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । जिल्लाको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका–२ कालागाढका स्थानीय हर्कबहादुर साउदले बताए। उनले भने, “डिलर सबडिलरमै ग्यासको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कसले बुझ्ने ?”

जिल्लामा पाउने भेरी तथा रेडिएन्ट ग्यासको मूल्य ग्यास कम्पनी अर्थात् ग्यास प्लान्टले एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा आपूर्ति गर्ने गरेको जनाएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्यास रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको तथा सोही ग्यास सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीय हरि विकले बताए।

ग्यास विक्रेताले फरक मूल्यमा ग्यास बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारीसम्म लिने नगरेको स्थानीय उपभोक्ताको गुनासो छ ।

दिपायल पिपल्लामा रेडिएन्ट ग्यासका डिलर व्यापारी देवेन्द्र खड्काले ग्यास कम्पनीले रु एक हजार ३१३.७५ मा ग्यास दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको तर पछि लिने गरेकाले सो रकम जोडेर ग्यास बेच्ने गरेको बताए। डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा रु एक हजार ४५० हुने गरेकाले फुटकर बेच्दा रु एक हजार ५०० लिने गरेको तथा थोकमा किन्दा रु एक हजार ४५५ सम्म लिने गरेको डिलर व्यापारी खड्काले स्वीकार गरे ।

त्यस्तै पिपल्लामा रहेका ग्यास बिक्री गर्ने सबडिलर अवस्थी तथा बोहरा पसलमा सोही ग्यासको रु एक हजार ६०० पर्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ । कैलालीका ग्यास डिलरबाट ग्यास ल्याउने गरेका कारण भाडा लगायत लोड, अनलोड तथा पसलको भाडा मिलाएर रु एक हजार ६०० लिने गरेको पसल सञ्चालकहरुले स्वीकार गरेका छन् । जिल्लामा खुलेआमरूपमा यसरी ग्यासको मूल्य पसलैपिच्छे फरक पाउने गरेको छ ।

उता डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले सरकारले तोकेको रकमभन्दा बढी ग्यासको मूल्य लिएर बिक्री गर्ने व्यापारीलाई कारवाही गरिने बताए । उनले भने, “ग्यासमा सरकारले तोकेको रकमभन्दा एक रुपैयाँ पनि बढी लिन पाइँदैन, यसरी पसलैपिच्छे फरक रकम लिइएको छ भने तुरुन्त कारवाही गर्छौं ।” जिल्लाका कुन कुन पसल तथा व्यापारीले यसरी बढी मूल्य लिएर ग्यास बिक्री गर्ने गरेका छन् सो विषयमा अनुगमनसहित जानकारी लिन र कारवाही गर्नका लागि आफूले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए।रासस

Logo