रोजगारीका लागि दैनिक तीन सय नेपाली भारत फर्कदै, आउँदा नागरिकता, फर्कदा रासन कार्ड

रोजगारीका लागि दैनिक तीन सय नेपाली भारत फर्कदै, आउँदा नागरिकता, फर्कदा रासन कार्ड

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज ।

कोभिड १९ महामारीको अत्याधिक जोखिमकैबीच पनि रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् । गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल भारत नाका जमुनाह भएर २५ सय बढी नेपाली भारत छिरेको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।

जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीले भदौ २७ गतेबाट दैनिक तीन सयको हाराहारीमा रोजगारीका लागि नेपालीहरु भारतका विभिन्न सहरमा गैरहेको बताए। प्रमुख गिरीका अनुसार एकसाताको अवधिमा करिब २५ सय नेपाली यो नाकाबाट भारत फर्किसकेका छन् ।

उनले कोभिड १९ का कारण नेपाल भारत सीमाना बन्द भए पनि भारतमा रोजगारी गर्ने अधिकांश नेपालीसँग भारतीय आधार कार्ड रहेकोले सोही देखाएर उनीहरु फर्किरहेको बताए। भारतमा बन्दाबन्दी हुँदा काम नपाई बाध्य भएर नेपाल फर्किएको बताउँदै पहाडी जिल्लाका नेपालीले नेपालमा पनि रोजगारी नपाएपछि फेरि बाध्य भएर भारतनै जानु परेको बताएका छन् ।

भारत जान भनि जमुनाह नाकामा पुगेका दैलेख नारायण नगरपालिका ४ का दीपक थापाले नेपाल फर्किएको तीन महिना पुगे पनि गाउँघरमा कुनै काम नपाएपछि भोकै बस्ने अवस्था आएकोले फेरी बाध्य भएर रोजगारीका लागि भारतको शिमला जान थालेको बताए ।

उनले आफ्नो देशमा रोजगारी नपाएर नै विदेशी भूमिमा गएर दुःखकष्ट सहनुपरेको दुखेसो सुनाए । यस्तै सल्यान थारमारेका अर्का युवक रामबहादुर विकले पनि नेपालमा रोजगार नपाएपछि फेरि भारत फर्किन थालेको बताए । उनले कोरोना भन्दा पेट पाल्ने चिन्ता बढी भएपछि फर्किएको जनाए।

कोरोनाको डरले नेपालमा बस्ने हो भने दुई छाक टार्न समस्या हुन थालेपछि भोकै बस्नुभन्दा रोगसँग लड्दै रोजगारीमा लाग्ने ठानेर नै आफुहरु भारत फर्किन लागेको अधिकांश नेपालीको भनाई छ ।गोरखापत्रबाट

Skip This
Skip This
Logo