‘ठेकेदारहरुको बदमासीका कारण रासायनिक मल आयातमा समस्या’ : मन्त्री भुसाल

‘ठेकेदारहरुको बदमासीका कारण रासायनिक मल आयातमा समस्या’ : मन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रासायनिक मल आयातमा समस्या भएको बताएका हुन्।

साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडी बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताए। विगतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरुका लागि समस्या उत्पन्न भएको उनले बताए।

उनले भने, ‘‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन् । सम्झौता गरेपछि एलसी गर्न आएनन् । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आएर वितरण गर्नु पर्ने थियो । साल्ट्र टे«डिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’’

मन्त्री भूसालले यो वर्ष विगत भन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको बताए । कोरोना गर्दा श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उनले बताए। विगतमा किसानहरुले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफैं ल्याउने गरे पनि यो वर्ष लकडाउनका कारण सम्भव नभएपछि समस्या भएको उनको भनाई छ ।

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रासायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्र अनुसार २५-२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।

 

Logo