रसुवागढी भन्सारबाट आयातमा ४ अर्ब ३३ करोड राजस्व सङ्कलन हुँदा निर्यात भने शुन्य

रसुवागढी भन्सारबाट आयातमा ४ अर्ब ३३ करोड राजस्व सङ्कलन हुँदा निर्यात भने शुन्य

केन्द्रबिन्दु
0
Shares

रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शुन्य भएको छ। चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो।

प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार ६ महिनाको अवधिमा चार अर्ब ३३ करोड ४५ लाख नौ हजार सङ्कलन भएको छ। कोभिड सङ्क्रमणको सुरूआत पश्चात चिनियाँ पक्षले दैनिक नौ वटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुल छेउमा सामान पुर्याउने गरेको छ। व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने शुल्कवापतको राजस्व असुली भएको हो। चीनतर्फ जाने निर्यात भने शून्य छ।

दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मकरुपमा हेर्दा यस वर्ष झण्डै साढे दुई गुनाले बढेको छ। गत वर्षको यस अवधिमा एक अर्ब ७२ करोड २४ लाख दुई हजार मात्र असुली भएको थियो। साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले जनाएको छ।

यस वर्षको वार्षिक असुली लक्ष्य भने ६ अर्ब ८१ करोड ११ लाख रहेको छ । सवारीसाधन बढी मात्रामा आयात हुन थालेसँगै राजस्वमा वृद्वि हुन थालेको हो। गत वर्षदेखि हालसम्म जुमक्रेन, टिपर, एम्बुलेन्स, माइक्रोबस, मिनीबस, जीप तथा कारसमेतका एक हजारभन्दा बढी सवारी आयात भइसकेको बताइन्छ। कोरोना सङ्क्रमण नियन्त्रणका लागि सामान पल्टी गर्दा क्वारेन्टिनमा राखिएका कामदार मात्र मितेरी पुलमा परिचालन गरिएको छ।

सामान पल्टी गर्ने स्थल पूरै घेरावाल लगाइ पिपिई लगाएका चालक एवं कामदारका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भन्सार कर्मचारीले मात्र प्रवेश पाउने बताइएको छ।

Skip This
Skip This
Logo