परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न, साढे ३७ करोडको बिगो दाबीसहित मुद्दा दायर

परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न, साढे ३७ करोडको बिगो दाबीसहित मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको हो। 

कैलाली लम्कीचुवा–१० स्थायी घर भइ हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र केटी साथी अनिता धितालसमेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसा नेपाल भित्र्याएको पाइएको छ। 

उनीहरुले सामूहिकरूपमा मिलेमतो गरि इ स्क्रेल र निवांश प्रयोग गरि विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विभिन्न मितिमा सामान्य व्यक्तिको बैंक खातामा अस्वभाविकरूपमा पैसा भित्रिएपछि नेपाल राष्ट्र बैंकले सूक्ष्मरूपमा अनुसन्धान गरेको थियो। 

विवरणअनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा नौ करोड ७९ लाख ९८ हजार ५८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा पाँच करोड ७७ लाख ६ हजार ८२६, भगवती खड्काको नाममा रहेको एनआइसी एशिया बैंकमा २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा एक करोड ६४ लाख ११ हजार १०० बराबरको रकम भित्रिएको पाइएको छ। 

केन्द्रीय बैंकको सूचनाअनुसार प्रतिअमेरिकी डलरको १२० रुपैयाँ ३४ पैसाको हिसाबले हुन आउने ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो कायम गरि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। विभागकाअनुसार आरोपी खड्कालाई बिगो जफत गरि तीन वर्ष बराबरको कैद सजायको माग गरिएको विभागले जनाएको छ। 

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा राष्ट्र बैंकले जारी गरेको सूचनाविरुद्ध कसुर गरेको दाबीसहित विभागले ३७ करोड ६४ लाखभन्दा बढी बिगो कायम गरि मुद्दा दर्ता गरेको छ। दायर मुद्दामा बिगो जफत गरि तीन वर्षसम्म कैद सजायको माग गरिएको छ।

Logo