भारतको सबैभन्दा ठूलो प्यासेन्जर कार उत्पादक कम्पनी मारुती सुजुकीले अबको २ वर्षभित्र ४ वटा नयाँ एसयुभी ल्याउने जनाएको छ। उसले नेक्स्ट जेन भिटरा ब्रेजा, बोलेनोमा आधारित क्रसओभर, ५ डोर जिम्नी र नाम उल्लेख भइनसकेको नयाँ मिडसाइज एसयुभीलाई सन् २०२३ को अन्त्यसम्म सावर्जनिक गर्ने जनाएको हो।
भारत लगायत विश्वका अधिकांश बजारमा एसयुभी गाडीको माग बढ्दै गएका कारण अबका दिनमा सुजुकीको ध्यान यहि सेग्मेन्टमा केन्द्रित हुने देखिएको छ।
ब्रेजाको नेक्स्ट जेन मोडललाई कम्पनीले यसै वर्षको अन्त्यसम्म लन्च गरिसक्ने योजना बनाएको छ। हाल कारोबार भैरहेको रेगुलर ब्रेजालाई अपडेट गरि निर्माण गरिएको यो एसयुभीको तस्बिर र केही टेक्निकल जानकारी बाहिरिसकेको छ। जुन रेगुलर मोडलको तुलनामा थप स्लिक र सार्प डिजाइनका साथ नयाँ स्टायलको इन्टेरियरमा आउनेछ। सनरुफ र ६ वटासम्म एयरब्याग थप हुने यसको इन्जिन र पावरट्रेनमा भने कुनै परिवर्तन गरिने छैन।
कम्पनीले लन्च गर्न लागेको अर्को नयाँ कम्प्याक्ट एसयुभी हाल कारोबार भैरहेको बोलेनो प्रिमियम ह्याचब्याकमा आधारित रहनेछ। जसको इन्जिन, लुक्स तथा डिजाइन र फिचर्सबारे हालसम्म कम्पनीले कुनै जानकारी सार्वजनिक गरेको छैन।
टोयोटासँगको सहकार्यमा निर्माण गरिरहेको अर्को नयाँ एसयुभीले हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने जनाइएको छ। यो नयाँ एसयुभीको नाम हालसम्म सार्बजनिक गरिएको छैन। डिएनजिए प्लेटफर्ममा उत्पादन गरिने यो एसयूभीमा १.५ लिटर पेट्रोल–इलेक्ट्रिक पावरट्रेन रहनसक्ने बताइएको छ। यसै वर्षको अन्त्यसम्म लन्च हुन सक्ने अनुमान लगाइएको यो एसयुभीले हाल उपलब्ध एस–क्रसलाई विस्थापित गर्ने देखिएको छ।
त्यसैगरी मिनी अफरोडर जिम्नीलाई इन्डियन स्पेकसहित ५ डोर मोडलमा उतार्ने कम्पनीले योजना बनाएको छ। हाल यो एसयुभी ३ डोर मोडलमा उपलब्ध रहँदै आएको छ। पावरट्रेन, फिचर्स र लुक्स तथा डिजाइन भने रेगुलर जिम्नीसरह नै रहने अनुमान लगाइएको छ।





























प्रतिक्रिया