नेपाली बजारमा हिरो एक्सपल्स २००-४भी भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले हाल परीक्षणको लागि यो मोटरसाइकल भित्र्याएको हाे। फागुनको मध्यदेखि यसको औपचारिक बिक्री प्रारम्भ गरिने बताएको छ।
नेपाली बजारमा हाल उपलब्ध हिरो एक्सपल्स २०० निकै नै लोकप्रिय मोटरसाइकल हो। यसको अपडेट भर्सनको रुपमा भारतीय बजारमा यो मोटरसाइकल केही समय यता बिक्री हुँदै आएको छ।
पहिले अंग्रेजी नयाँ वर्षको सुरुवातमै यसलाई भित्र्याउने तयारी भए पनि विविध कारणले हालै मात्र यो मोटरसाइकल भित्रिएको छ। बढ्दो मागका कारण बीचमा यसको उत्पादन नै प्रभावित भएको थियो र पछि केही मूल्यवृद्धिका साथ फेरि बजारमा उपलब्ध गराइएको थियो ।
हाल नेपाली बजारमा एक्सपल्स २०० को मूल्य ४ लाख ३ हजार ५ सय रुपैयाँ छ। नेपाली बजारमा अब उपलब्ध हुने एक्सपल्स २००-४भीको मूल्य पछि नै तोकिने छ। यद्यपि यसको मूल्य करिब ४ लाख ८० हजारको हाराहारी हुने अनुमान गरिएकाे छ। भारतमा यसको मूल्य १ लाख ३० हजार भारु छ ।
नयाँ एक्सपल्स २०० ४भीले १८.८ पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ, जुन हाल प्रचलित एक्सपल्स भन्दा बढी हो। हालको स्ट्यान्डर्ड एक्सपल्स २०० ले १७.८ बीएचपी पावर र १६.४५ एनएम टर्क जेनेरेट गर्छ।
इन्ट्री लेवलको सो एड्भेन्चर मोटरसाइकललाई पावरफुल बनाउनका लागि अन्य धेरै अपडेटसमेत गरिएको छ। यसमा अपडेटेड ७ फिन आयल कुलर र सुधारिएको ट्रान्समिसन प्रयोग गरिएको छ। त्यसैगरी एलईडी हेडल्याम्प समेत छ।
यो मोटरसाइकलमा ब्लुटुथ सपोर्ट र टर्न बाई टर्न नेभिगेसनसहितको फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, सिंगल च्यानल एबीएस, लङ ट्राभल सस्पेन्सन, ड्युअल परपोज टायर लगायत उपलब्ध छ।































प्रतिक्रिया