काठमाडौं ।
हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै त्यसविरुद्ध निवेदन पेस भएको छ । यता, कानून व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै त्यसविरुद्ध निवेदन पेस भएको हो । यता, नेपाल बार एसोशिएसनले पनि प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने माग अघि सारेको छ ।
कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा विभिन्न ब्यानर र प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका हुन् ।
साताको पहिलो दिन आइतबार शेयर बजार ५० दशमलव २० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ बिन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च बिन्दु हो । आज एकैदिन ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएसँगै नेप्से अलटाइम हाइ विन्दुमा पुगेको हो ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । जस अन्तर्गत चालू आर्थिक वर्षका लागि पूँजीगत खर्चका रुपमा ३ खर्ब ५२ अर्ब रुपैंयाँ विनियोजन भएकोमा पुससम्म ५० अर्ब ८२ करोड रुपैयाँ मात्र खर्च भएको देखिएको छ । यो रकम विनियोजित बजेटको १४ दशलमव ४० प्रतिशत मात्र हो । यता चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैंयाँ अर्थात् ३६.०८ प्रतिशत रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्नेहरु देश र संविधान विरोधी भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा प्रधानमन्त्रीसँग साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले संसद् विघटन असंवैधानिक भयो भनेर कराउनेहरु संविधान र देश विरोधी भएको तथा संसद पाँचै वर्ष हुनका लागि सांसदहरुको जागिर नभएको पनि बताएका छन् ।





























प्रतिक्रिया