प्लाष्टिक पोखरी प्रभावकारी बन्दै, वर्षामा संकलन गरेको पानीले हिउँदे बालीमा सिँचाई

प्लाष्टिक पोखरी प्रभावकारी बन्दै, वर्षामा संकलन गरेको पानीले हिउँदे बालीमा सिँचाई


तेह्रथुम जिल्लाको छथर गाउँपालिका ६ का घनश्याम ढकाललाई केहीवर्ष अघिसम्म खानेपानी जोहो गर्न सकस हुँदै आएको थियो। पशुचौपाया र सिँचाईको कुरै भएन। करेसाबारीमा तरकारी उत्पादन हुँदैन थियो। नजिकै रहेको शुक्रबारे बजारबाट तरकारी किनेर खानुको विकल्प नै थिएन। तर,अहिले अवस्था फेरिएको छ। 

आफ्नै करेसाबासीमा तरकारी उत्पादन गरि बिक्रीसमेत गर्दै आएका छन्। खानेपानीकै अभाव भएको बस्तीहरुमा प्लाष्टिक पोखरीमा बर्षातमा पानी जोहो गरि हिउँदमा सिँचाई गर्न थालेपछि अवस्था फेरिएको हो। ढकाल परेको पानी यही पोखरीमा संकलन गर्ने गरेका छन् र हिउँदमा तरकारी,फलफूलमा सिँचाई गर्दै आएका छन्। ‘पानीको मुहान सुक्दै जाँदा खानेपानीकै समस्या थियो तर स्थानीय सरकारले अनुदानमा प्लाष्टिक पोखरी दिएपछि सिँचाई गर्न ठूलो राहत बनेको छ’, उनले भने । 

ढकाल भन्छन्, ‘हामीले खानेपानी नै समस्या थियो तरकारीमा सिँचाई गर्न त झन परैको कुरा तरकारी किनेरै खानु पर्थ्यो तर, हामी अहिले तरकारी बेच्न थालेका छौं ।’ ढकाल जस्तै गुमान सिंह कार्कीले प्लाष्टिक पोखरीमा पानी जोहो गरि तरकारीमा सिँचाई गर्दै आएका छन्। 

करेसाबासीमा अकबरे,आलु,प्याज,लसुन लगायतका तरकारी खेती गर्दै आएक छन्। गाउँमा रहेका निक्कै प्रसिद्ध धारा तथा कुवाहरु सुक्ने क्रम दिनानु दिन बढ्दो छ। तेह्रथुम जिल्लाको खासगरी सुख्खाग्रस्त क्षेत्रमा पानीको मुहान सुक्दै गएपछि खानेपानीको समस्या झेल्दै आएका नागरिकहरु पीडित छन् । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले खान टरेपनि वस्तु चौपाया र सिचाँईका लागि भने समस्या भइरहेको बेला यहाँका किसानहरुले नयाँ जुक्ती निकालेका हुन्।  

पानी कै अभावका कारण सिँचाई गर्न नसक्दा तरकारी किनेर खाने यहाँका किसानहरु अहिले तरकारी बिक्रीबाटै मनग्य आम्दानी लिन थालेका छन्। गाउँका प्रायजसो घरमा प्लाष्टिक पोखरी बनाएका छन् । पानी पर्दा घरको छतबाट झर्ने पानी पाईपबाट पोखरीमा संकलन गर्ने गरेका छन् । हिउँदे बालीका लागि पानी नभए पनि बर्षातको पानी संकलन गरि सिँचाई गर्न सकिने यहाँका किसानले उदाहरण दिएका छन्। 

सुख्खाग्रस्त क्षेत्रका किसानहरुलाई लक्षित गरि कार्यक्रम ल्याइएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए। स्थानीय सरकार गठन भएदेखि नै नागरिकहरुका समस्यालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको तिगेलाको भनाइ छ। 

गाउँपालिकाले कृषकको साझेदारीमा पोखरी अनुदानमा प्रदान गर्दै आएको कृषि शाखा प्रमुख छथर हिमबहादुर थापाले बताए। किसानलाई समय समयमा तरकारी तथा फलफूल खेती सम्बन्धी बिभिन्न कार्यक्रमहरुका साथै सल्लाह र परामर्श दिँदै आएको प्रमुख थापाको भनाइ छ। 

जिल्लाको खासगरी पश्चिमी क्षेत्रमा प्लाष्टिक पोखरी प्रभावकारी बन्दै गएको छ। आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप लगायतका गाउँहरुमा पोखरी बनाई किसानले सिँचाई गर्दै आएका छन् ।
 

Logo