४८ रुपैयाँमा खरिद गरेको प्याज १२० मा बच्ने व्यवसायी पक्राउ

४८ रुपैयाँमा खरिद गरेको प्याज १२० मा बच्ने व्यवसायी पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतले नेपालमा प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा कालोबजारी शुरु भएको छ । नेपाली बजारमा कुनै पनि सामानको अभाव तथा आयात रोकिएमा व्यवसायीहरुले कालोबजारी गर्ने प्रचलन नयाँ होइन ।

भारतले सोमबारदेखि नेपालमा प्याज निर्यात रोक लगाएकाले प्याजको कालोबजारी मौलाएको छ । बुधबार बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई प्याज कालोबजारी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो ।

बिहान काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले बल्खु तरकारी बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेच्दै गरेका व्यापारी सुनिल केसीलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको उपभोक्ताकर्मी माधव तिमल्सिनाले केन्द्रबिन्दुलाई जानकारी दिएका छन् ।

उनका अनुसार अनुगमनका क्रममा बल्खुका दुई वटा पसलमा ११९ बोरा प्याज सिल गरिएको र अन्य व्यापारीलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सिफारिस गरिएको छ ।

Logo