काठमाडौं ।
कुनै पनि निर्जिव वस्तु आफैंमा पूर्ण आकृति हुँदैन । त्यसमा विभिन्न सिप सिकेका व्यक्तिहरुको श्रम, सिप र समय खर्च भएपछि त्यसले पूर्णता पाउँछ । कुनै एउटा काठको टुक्रा भित्र सिकर्मीले झ्याल–ढोका र विभिन्न जनावर तथा देवीदेवताको आकृति देख्छ । ढुङ्गा त्यसै सडकमा फालिएको हुन्छ । एउटा मुर्तिकारले त्यसमा राम्रो मुर्ति र शालिक देख्छ । फलामको टुक्रामा लोहार (फलामको काम गर्ने व्यक्ति) ले हतियार, इञ्जिन, वा दैनिक आवश्यकिय सामानको चित्र देखेको हुन्छ । त्यस्तै सुनार (सुनचाँदीको काम गर्ने) ले सुनचाँदीको टुक्रामा विभिन्न आकृतिका महङ्गा गरगहना देख्छ । यहि देखाईले गर्दा नै ऊ भविष्यमा सफल बन्न सक्छ ।
नुवाकोट जिल्ला साविकको ओखरपौवा–६ का मानबहादुर लामाले बाँसका जरा र सल्लाका फलहरुमा विभिन्न आकृतिका मुर्तिहरु र उपहार सामाग्रीको स्रोत देखे । त्यतिखेरै देखि तिनीहरुमा उनले आफ्नो श्रम, सिप र समय खर्चिंदै गए । जसले बनायो उनलाई एक सफल हस्तकला व्यवसायी । उनकै प्रयासले बन्यो त्यहाँ म्हित्ङप हस्तकला उद्योग र बनाए आफूलाई त्यसका प्रोप्राइटर । पूख्र्यौली पेशा भए पनि अहिलेसम्म त्यहाँ हस्तकला उद्योग खुलेको थिएन । लामाले यसलाई एउटा उद्योगको रुप दिए, ५ वर्ष अगाडि । अहिले यसमा रोजगारी दिएका छन् , पाँच जना स्थानियलाई । ‘सिप सिकाउँदै रोजगारी दिदैंछु ।’ उनी भन्छन्– “बाँसका सामानहरु दैनिक आवश्यकताका सामान भएकाले जो कसैलाई पनि आवश्यक पर्छ । तैपनि अहिले सस्ता प्लाष्टिकका भाडाहरु प्रति मानिसको आर्कषण वढ्दै गएको छ , बाँसका सामानहरु ओझेलमा छन् ।” आफूले केहि तालिम लिएर यस तर्फ लागेकाले काम गर्न भने सजिलो भएको उनको भनाइ छ ।

गाउँ–घर तिर त्यतिकै खेर जाने गरेको बाँसबाट मानबहादुरले डोका, डाला , नाङ्ला, थुन्से, टोकरीहरु, खेलौनाहरु, भकारी तथा चाल्नुहरु बनाउनुका साथै सल्लाका फलहरुका आर्कषक उपहार सामाग्री , फूल र पुतलीहरु बनाउँदै आएका छन् । त्यस्तै बाँसकै जराबाट बाघको आकृति बनाएका छन् । यसले त्यहाँ स्वदेशी तथा विदेशी दुवै खाले पर्यटकहरुलाई अवलोकन गर्ने वातावरण मिलेको उनको भनाइ छ । यस्ता सामानहरु बनाउन सके बजारको अभाव नभएको मानबहादुर बताउँछन् । उनले अहिले यी सामानहरुलाई स्थानिय बजारका अतिरिक्त राजधानीसम्म पठाउने गरेका छन् । उद्योगले ठूलो रुप लिन सके देशका अन्य भेगमा पनि बाँसका सामानहरु पठाउने उनको योजना छ । अहिलेसम्म उनलाई हस्तकलाको उद्योग संचालन गर्न कुनै पनि वित्तिय संस्थाले सहयोग नगरेको मानबहादुरले गुनासो गरे । नेपालका ७२ जिल्लामा बाँस पाइन्छ । सदुपयोग गर्न नसकेर त्यतिकै खेर गइरहेको बाँसको महत्व बुझेर सरकारले यसमा संलग्नहरुलाई आर्थिक, सिप सम्बन्धि र बजारको लागि सहयोग गर्ने हो भने नेपाली हस्तकलाको भविष्य राम्रो भएको लामाले बताए ।
नेपालमा मानबहादुर जस्ता करिव दश हजार जति व्यवसायीहरु छन् । जसले दैनिकजसो थुप्रै थरिका बाँसका आकृतिहरु बनाउँदै गरेका छन् । ती व्यवसायीहरुले गर्ने हस्तकलाको कामलाई २ भागमा विभाजन गरिएको छ । कपडाबाट बनाइने अन्र्तगत ढाका र यसबाट बनाइने सामानहरु पर्दछन् । ढाकाबाट झोला, टोपी, पुतली तथा अन्य यस्तै सामान बनाउनेहरु संलग्न छन् । त्यस्तै बाँस र काठबाट डालो, डोको, नाङ्लो, ढक्की, विभिन्न जनावरका आकृति र पुरातत्वसँग सम्बन्धित अन्य सामान बनाउनेहरु पर्ने गरेको नेपाल हस्तकला महासंघले जनाएको छ । अहिले महासंघबाट सदस्यता लिएर काम गर्नेहरु करिव १ हजार भन्दा वढी छन् । यो संख्या वर्षेनी वढ्ने गरेको महासंघले जानकारी दिएको छ । उनीहरुले उत्पादन गरेका हस्तकलाका सामानहरु देशका विभिन्न प्रमुख शहरका अतिरिक्त विश्वका जापान, चीन, भारत लगायत ५० भन्दा वढि देशहरुमा निर्यात् हुने गरेको छ । वर्षेनी महासंघले राजधानीमा हस्तकला प्रदर्शनी पनि गर्ने गरेको छ । हरेक वर्ष चैत महिनामा राजधानीको भृकुटीमण्डपमा महासंघले हस्तकला प्रदर्शनीको आयोजना गर्ने गरेको थियो । तर गत वर्ष भने कोरोना महामारीले मेला आयोजना भएन ।
हस्तकला व्यवसायका लागि चाहिने कच्चा पद्धार्थको सहजताले गर्दा समग्रमा नेपालमा हस्तकलाको भविष्य राम्रो रहेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । पछिल्ला दिनहरुमा यसमा मानिसहरुको आर्कषण बढे पनि कोरोना प्रभावले यस क्षेत्रलाई असर गरेको छ । यस्तै नेपालको अस्थिर राजनीतिक अवस्थाले पनि हस्तकला व्यवसायलाई पनि असर पारेको व्यवसायीहरुले बताएका छन् । राजनीतिक अवस्थामा सुधार हुने हो र अहिलेका यूवा वर्गले पनि यसमा चासो राख्ने हो भने नेपालका थुप्रै जनशक्तिलाई यसले रोजगारी दिन सक्ने बताइएको छ । अन्य व्यवसायको जस्तै हस्तकला व्यवसायको पनि महत्व बुझ्न सके नेपालको जनशक्ति कामकै लागि विदेशिनु नपर्ने सम्बद्ध व्यवसायीहरुको भनाइ छ ।





























प्रतिक्रिया