विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा मुलुकको अर्थतन्त्र थप चुनौतीपूर्ण : पूर्वगभर्नर नेपाल

विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा मुलुकको अर्थतन्त्र थप चुनौतीपूर्ण : पूर्वगभर्नर नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन्।

पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताए । डा. नेपालले मंगलबार कुराकानी गर्दै चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिट्यान्स लगाताररुपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका हुन् । 

उनले नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाका लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिए । अन्तर्राष्ट्रिय मुद्रा कोषले इमर्जिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति गर्ने बताएको उनको भनाइ छ । 

डा.नेपालले विदेशी मुद्रा सञ्चिति थ्रेस होल्डको मार्जिनमा नै आएकाले कुनै नितिगत सुधारसमेत गर्न सक्ने अवस्था नभएको उल्लेख गरे । सरकारले अर्थतन्त्र सहज बनाउनका लागि तत्काल विदेशी सहयोग अनुदानको लागि पहल गर्नुपर्ने नेपालको भनाइ छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि पूरा नहुने पूर्वगभर्नर नेपालको दाबी छ । उनले अहिलकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजश्व संकलनको लक्ष्यसमेत पूरा नहुने बताए ।

त्यस्तै पूर्वगभर्नर डा.नेपालले सरकारले राजश्व संकलन गेरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृत्तीले बैंकहरुमा तरलता अभाव भएकोे उल्लेख गरे। उनले विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको बताए । सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने पूर्वगभर्नर नेपालले दाबी गरे । बैंकहरुबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाइ छ ।

पूर्वगभर्नर नेपालले रुस र युक्रेनबीचको तनावले नेपालमा पट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुनसक्ने बताए । उनले पट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिको लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई  सुझाव दिए । उनले दुई देशबीचको तनाव कहिलेसम्म रहने निश्चित नभएकाले खानेतेल लगायत कच्चा पदार्थको आपूर्तिमा समस्या भएर अभाव हुन सक्ने बताए । रुस र युक्रेनबीचको तनावले पट्रोलियम पदार्थ तथा खाने तेल लगायत खाद्यान्नको समेत मुल्यबृद्धि हुने भएकाले सरकारले पट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउनु पर्ने नेपालको सुझाव छ । उनले सरकारले पट्रोलियम पदार्थको खपत घटाएर विद्युतीय खपतमा जोड दिनु पर्ने बताए।

पूर्वगभर्नर नेपालले नेपालमा सामान्यभन्दा सामान्य वस्तु पनि विदेशबाट आयात गरिने हुँदा त्यसका लागि विदेशी मुद्रा खर्च गर्नु परेको बताए । उनले डलर खर्च गर्न डलर आउने स्रोत पनि रेमिट्यान्स ५ महिनादेखि कम हुँदै गएकाले थप समस्या आउने बताए। चालु आर्थिक बर्षको सात महिनामा मात्रै करिब ४२ अर्ब ५२ करोडको ४० लाखभन्दा बढीको कच्चा सोयाविन आयात भएको छ । जसमा युक्रेनबाट ७९ करोड ४७ लाखको कच्चा सोयाविन आयात भएको छ। 

त्यस्तै अर्जेन्टिनाबाट सबैभन्दा बढी २७ अर्बको सोयाविन आयात भएको छ । विभिन्न देशबाट ४२ अर्ब ५२ करोडको कच्चा पदार्थ आयात हुँदा १५ अर्ब ६३ करोडभन्दा बढीको सोयाविन तेल निर्यात भएको छ । त्यस्तै चालु आर्थिक बर्षमा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएकोमा ९ अर्ब ५१ करोड बराबरको कच्चा पदार्थ युक्रेनबाट मात्रै यात भएको छ।

Logo