सुनको मूल्यमा किन हुन्छ घटबढ ?

सुनको मूल्यमा किन हुन्छ घटबढ ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ। बुधबार एकैचोटी २ हजार ५०० ले बढेर नेपाली बजारमा सुनको मूल्य प्रतिताेला १ लाख ५ हजार ५०० रुपैयाँ पुग्यो। याे हालसम्मकै उच्च मूल्य हाे।

नेपाल राष्ट्र बैँकले अहिले सुन आयातको कोटा घटाएको छ। पहिले एक दिनमा २० केजी ल्याउन मिल्नेमा अब १० केजी मात्र ल्याउन पाइने भएको छ। चाँदी पनि एक पटकमा ३५ डलर बराबरको मात्रै आयात गर्न पाइने छ । 

रुस र युक्रेनबीचको युद्धको अन्तर्राष्ट्रियस्तरमा परेको प्रभावका कारण दिनप्रतिदिन सुनको मूल्य बढ्दै गएको हो। 

अहिले सुनको मूल्यले नयाँ रेकर्ड राख्यो भन्ने समाचार दिनहुँ जस्तै आउने गरेका छन्। गत वर्षको साउन ५ गते नेपाली बजारमा सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसयता पनि १ लाखको हाराहारीमै कारोबार हुँदै बुधबार ह्वात्तै बढेर प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएर नयाँ रेकर्ड बन्यो। तर आज एकैदिन ३ हजार ५०० रुपैयाँले घटेकाे छ।

नेपाल राष्ट्र बैंकले गत वर्ष चैत महिनामा सर्वसाधारणको माग बढेपछि दैनिक १० केजीबाट २० केजीसम्मको कोटा बढाएको थियो। तर अहिले मुलुकमा वैदेशिक मुद्रा सञ्चिति घट्दै गएपछि दैनिक सुनको कोटामा १० केजीको सीमा कायम गरिएको राष्ट्र बैंकले जनाएकाे छ । 

अमेरिका र बेलायतले मस्कोबाट तेलमा प्रतिबन्ध लगाउने भन्दै रूस–युक्रेन संकटको वरीपरि बढ्दो डरको बीचमा सुरक्षित मानिने सुनमा लगानीकर्ताहरू आएका कारण मूल्य बढ्दै गएको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य बताउँछन् । उनले भने, “अहिले सुनको मूल्य बढ्नुको मुख्य कारण रुस र युक्रेनबीचको द्वन्द्वको प्रभाव नै हो, यसका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि सुनको मूल्य बढ्छ।”

सुनको मूल्य घटबढ कहिलेसम्म हुने यकिन नभएको उनको भनाइ छ । उनले भने, “सुन कहिलेसम्म बढ्छ थाहा छैन, घटबढ भइरहन्छ । यसरी सुन बढ्दा सुनको काम गर्ने कामदारलाई असर गर्छ, उपभोक्तालाई असर गर्छ व्यवसायीलाई असर गर्छ, कामदारलाई असर गर्छ ।” अहिले सुनको कारोबार पहिलेको जस्तो नभएको शाक्यको भनाइ छ। उनका अनुसार सुन महँगो हुँदा पनि बजारमा उपभोक्ताहरु सुन बेच्न आउनेको संख्या कम छ । तर व्यवसायीहरुले भने बढेकै मूल्यमा भए पनि सुन किन्ने गरेका छन्। 

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ८१ डलर कायम भएको छ भने नेपाली बजारमा १ लाख २ हजार रुपैयाँ कायम भएको छ। 

Skip This
Skip This
Logo