ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडी बढाएको बताएकि छन् ।
सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडी बढाइरहेको बताए ।
नेपाल नविकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उनले जलविद्युत आयोजनाहरुको निर्माणको काम उत्साहित रुपमा अगाडी बढिरहेको बताए ।
सरकारले सन् २०२८ सम्ममा १५ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य साथ काम गरिरहेको उनले बताए । मन्त्री भुसालले जलविद्युत आयोजनाहरु गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिए । उनले छिमेकी राष्ट्रहरुलाई विद्युत निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पारिन ।
उनले भनिन् ‘सरकारले सन् २०२८ सम्म १५ हजार मेघावाट जलविद्युतको विकास गर्ने लक्ष्य अनुरुप हाम्रो मन्त्रालयले त्यो काम गरिराखेको छ । देशमा उत्पादित विद्युतको आन्तरिक खपत वृद्धि तथा व्यवस्थापन विश्वसनीय बनाउन सरकारले आवश्यक कदम पनि अगाडी बढाइराखेको छ । वर्तमान परिस्थितिमा नविकरणीय ऊर्जा विश्वकै लागि अपरिहार्य आवश्यकता रहेको हामीले देखेका छौँ । छिमेकी राष्ट्रका साथै समग्र दक्षिण एसियाकै लागि पनि नेपालको नविकरणीय ऊर्जा केन्द्र बन्ने हामीले देखिराखेका छौँ । सो को लागि नेपालले जलविद्युत आयोजनाहरुको निर्माण एउटा उत्साहसित काम अगाडी बढाएको छ ।’
मन्त्री भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताउदै देशभित्रका नीजि क्षेत्र, सबै वित्तिय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले सो लगानीलाई जोखिममा पर्न दिनु नहुने बताए ।





























प्रतिक्रिया