वडाध्यक्षको कृषि मोह : ‘आत्मनिर्भर बन्न आफैंबाट सुरू गर्नुपर्छ’

वडाध्यक्षको कृषि मोह : ‘आत्मनिर्भर बन्न आफैंबाट सुरू गर्नुपर्छ’


भगवतीमाई गाउँपालिका-७ का वडाध्यक्ष रत्नबहादुर शाही दिनभर वडा कार्यालयमा भेटिए पनि बिहान साँझ बारीमै भेटिन्छन्। वडाबासीकाे सेवापछि माटाेसँग खेल्न उनलाई बानी परिसकेकाे छ। उनले घर नजिकैकाे बारीमा माैसमअनुसारकाे तरकारी खेती, फलफूल लगाएका छन् । उनी अरूलाई आत्मनिर्भर बन्न सल्लाह दिनुभन्दा आफैंले काम गरेर देखाउने गरेकाे बताउँछन्। 

५८ वर्षीय शाही बारीमा पुगेपछि ३० वर्षीय जाेस आउने सुनाउँछन् । ०४९ सालबाट राजनीतिमा सक्रिय उनले त्यतिबेलै गाविस अध्यक्षको चुनाव लडेका थिए । तर, त्यसबेला असफल भए । पुन: २०६४ सालमा उपाध्यक्षमा लडे । कृषि कर्मसँगै राजनीति नछाेडेका शाहीले २०७४ सालमा राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वडाध्यक्ष जिते। वडाध्यक्ष जितेर जनतामाझ काम गर्दैगर्दा उनले धेरै कुरा सिकेकाे बताए ।

शाहीले चार रोपनी जग्गामा सुन्तला र तीन रोपनी जग्गामा डेढ सय बोट अलैँची लगाएका छन्। यसबाट उनले मनग्य आम्दानी लिइरहेका छन्। उनकै सिकाे गर्दै अहिले गाउँमा धेरै किसानले व्यवसायिक तरकारी खेती गरेका छन्।  

भगवतीमाई गाउँपालिका-७ का वडाध्यक्ष शाही कृषिमा मात्र नभएर विकास निर्माणमा पनि अन्य वडाको तुलनामा अब्बल देखिन्छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोको उचित व्यवस्था गरेका छन्। 

Logo