औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति नभए उद्योगको चाबी सरकारलाई बुझाउँछौं : उद्योगी-व्यवसायी

औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति नभए उद्योगको चाबी सरकारलाई बुझाउँछौं : उद्योगी-व्यवसायी

केन्द्रबिन्दु
0
Shares

उद्योगी व्यवसायीहरुले औद्योगिक क्षेत्रमा हुने लोडसेडिङ तत्काल अन्त्य गरी समस्या समाधानको दीर्घकालीन उपाय खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिगत केही दिनदेखि औद्योगिक क्षेत्रमा लगातार विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको र त्यसबाट असहज परिस्थिति उत्पन्न भएकाले सम्बेनदिनशील हुन सरकारलाई उद्योगी व्यवसायीको आग्रह छ । 

नेपाल उद्योग परिसंघका प्रदेश एक अध्यक्ष भिम घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै विद्युत् प्रणाली, आपूर्ति र वितरणमा दुरदर्शिता एवं दीर्घकालिन सोच नपुगेकाले स-सानो प्राकृतिक प्रकोप तथा बाह्य प्रभावमा ठूलो क्षति ब्यहोर्नु परेको उल्लेख गरेका छन् । 

पछिल्लो समय नेपालको औद्योगिक क्षेत्र लगातार विभिन्न परिस्थितिको शिकार हुने गरेको स्मरण गराउँदै अध्यक्ष घिमिरेले मुलुकको आर्थिक अवस्था तहसनहस भएको बताए । कोभिडका कारण धराशायी बनेको औद्योगिक क्षेत्र उकास्न सरकारको ध्यान नजानु र बैंक तथा वित्तीय संस्थाले समेत आफु खुशी ब्याज प्रणाली परिवर्तन गर्नुले औद्योगिक क्षेत्र संकटपूर्ण अवस्थामा पुगेको व्यवसायीको भनाइ छ । 

पछिल्लो समय मुलुकमा माग भन्दा बढी विद्युत उत्पादन भइरहेको स्मरण गराउँदै औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुनुलाई व्यवसायीहरुले आश्चर्यका रुपमा हेरेका छन् । युक्रेन र रुसबीचको युद्धका कारण कोइला थर्मप्लान्ट र प्राकृतिक ग्यासबाट उत्पादन भएको विद्युत् महंगो भएपछि भारतबाट आयात हुने विद्युत् अनियमित भएको वास्तविकता बुझ्न सरकारलाई उद्योगीहरुको आग्रह छ । 

उत्पादन नै रोकिने गरी उत्पन्न पछिल्लो परिस्थिति समाधानका लागि सरकारले तत्काल आवश्यक कदम नचाले उद्योगको तालाचावी सरकारलाई बुझाउन बाध्य हुने चेतावनी उद्योगी व्यवसायीको छ । उद्योग बन्द गर्नुपर्ने अवस्था आए लाखौं कामदार बेरोजगार बन्ने र त्यसको जिम्मा सरकारले लिनु पर्ने अध्यक्ष घिमिरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्योगी व्यवसायीले भारत सरकारसँग तत्काल कुटनीतिक पहल गरी विद्युत् आपूर्ति नियमित बनाउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् । 

  

Skip This
Skip This
Logo