यातायात व्यवसायीद्वारा मन्त्री नेम्वाङसँग भेट, असोज १ गतेबाट सवारी चलाउने जानकारी

यातायात व्यवसायीद्वारा मन्त्री नेम्वाङसँग भेट, असोज १ गतेबाट सवारी चलाउने जानकारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यातायात व्यवसायी र यातायात मजदूर संगठनहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई आज भेटेर असोज १ गतेबाट नै यातायात सञ्चालन गर्ने जानकारी गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीन यातायात मजदूर संगठनले मन्त्री नेम्वाङलाई भेटेर असोज १ गतेदेखि नै यातायात सञ्चालन गर्ने वातावरण बनाइदिन आग्रह गर्दै ध्यानार्कण पत्र बुझाएको महासंघका महासचिब सरोज सिटौलाले बताए ।

उनका अनुसार असोज १ गते विश्वकर्मा पूजा भएकाले त्यही दिन पूजा गरेर यातायात सञ्चालन ल्याउने तयारी छ । त्यसका लागि सहजीकरण गर्न यातायात मन्त्रीसँग आग्रह गरेको र मन्त्री पनि सकारात्मक रहेका सिटौलाको भनाइ छ ।

अहिले करिव चार महिनाको लकडाउनले शिथिल बनेको यातायात क्षेत्र एक महिना अन्तर जिल्लागत रुपमा सञ्चालमा आए पनि उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि तीन हप्ताको निषेधाज्ञा बिहिबारदेखि खुकुलो भएको छ । खुकुलो भएसँगै १६ सिट भन्दा बढी भएका सवारी सञ्चालनमा आएका छन् । तर व्यवसायीले १६ सिटभन्दा कम क्षमताका गाडी चलाउन नपाउने प्रावधान पनि हटाउन आग्रह गरिएको अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष रामचन्द्र कार्कीले बताए ।

मन्त्री नेम्वाङले यी विषयबारे सिसिएमसी, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री समक्ष कुरा राख्ने प्रतिवद्धता गरेको कार्कीको भनाइ छ ।

Logo