शेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको छ।
नेपाली शेयर बजार चालु आर्थिक वर्षको सुरुवातसँगै उतारचढाव भइरहेको छ। अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन विहीबार पाँचाैं दिनको लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो। यो साताको पहिलो दिन आइतबार सार्वजनिक विदा भएकाले शेयर बजार पनि बन्द भयो। साताको तीन दिन मात्रै कारोबार भएको छ । तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आएको थियो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ। विहीबार पनि सार्वजनिक विदा भएकाले शेयर बजार बन्द भयो।
साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक ४४.६४ अंक गिरावट आएर २४१९.८० विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंकले घटेको थियो । सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
साताको दोस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार मापक नेप्से परिसूचकमा ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको थियो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको थियो भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंकले घटेको थियो ।
मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता शेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकममा गिरावट आएको थियो । बुधबार नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ । जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ।
बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो।































प्रतिक्रिया