काठमाडौं ।
बीमा क्षेत्रका लागि अत्यावश्यक पर्ने एक्चुअरी मूल्यांकन नेपालमै हुन सकेको छैन । नेपालमा एक्चुअरी सम्बन्धी दक्ष जनशक्तिको अभावका कारण अझै पनि यस सम्बन्धी काम नेपालमा हुन नसकेको हो । एक्चुअरी गणितसँग सम्बन्धीत विषय हो । बीमा कम्पनीहरुमा वित्तीय विवरण बनाउन, पोलिसी बनाउन, प्रिमियम निर्धारण गर्न तथा भविष्यमा आउने जोखिमको व्यवस्थापन गर्ने र रणनीति बनाउन समेत एक्चुअरीको आवश्यकता पर्छ ।
एक्चुअरी मूल्यांकन विश्वमा आर्कषक रोजगारीको रुपमा मानिन्छ । तर नेपालमा यसको सुरुवात नभएकाले यस क्षेत्रबाट प्राप्त हुने लाभ न सर्वसाधारणले लिन पाएका छन्, न त बीमा कम्पनीहरुले नै । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा एनएफआरएस प्रणाली लागू गरेको छ । बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्दा यसै प्रणालीमा आधारित भएर सार्वजनिक गर्छन् ।
त्यसका साथै बीमा क्षेत्रमा पनि एक्चुअरी मूल्यांकनको आवश्यकता महसुस गरिएको हो । ‘बीमा क्षेत्रमा एक्चुअरी मूल्यांकनको आवश्यकता महसुस गरिए पनि नेपालमै सुरु गर्न सकिएको छैन ।’ बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने । नेपालमा हाल १९ वटा जीवन बीमा र २० वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् । जीवन बीमा कम्पनीहरुले अहिलेसम्म भारतबाट एक्चुअरी मूल्यांकनको काम गर्दै आएका छन् । नेपालमा दक्ष जनशक्ति नभएका कारण हरेक वर्ष एक्चुअरी मूल्यांकनका लागि भारतसँग निर्भर हुनु परेको कार्यकारी निर्देशक पौडेलको भनाइ छ । जसका कारण नेपालले हरेक वर्ष एक्चुअरी मूल्यांकन बापतको ठूलो रकम भारतलाई बुझाउँदै आएको छ ।
बीमा ऐन २०४९ अनुसार बीमा कम्पनीको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन एक्चुअरीबाट गराउने कानूनी प्रावधान छ । बाहिरी जनशक्तिबाट मूल्यांकन गर्दा एकातिर लाखौं रुपैयाँ बाहिरिएको छ भने अर्कोतिर समयमा एक्चुअरी प्रतिवेदन नआउँदा वार्षिक साधारणसभा समेत समयमा गर्न ढिलाई हुने गरेको छ । नेपाली बीमा कम्पनीहरुले भारतबाट एक्चुअरी मूल्यांकन गर्दा कम्तीमा तीन महिना लाग्ने गर्छ ।
के हो एक्चुअरी मूल्यांकन ?
बीमा कम्पनीहरुका लागि अत्यावश्यकीय गणितीय अस्त्रका रुपमा एक्चुअरी मूल्यांकनलाई लिन सकिन्छ । जीवन बीमा कोषमा रहेको रकमको वास्तविक मूल्यांकन गर्ने कार्यलाई नै एक्चुअरी मूल्यांकन भनिन्छ । एक्चुअरी मूल्यांकनमा गणितिय शुत्रहरु प्रयोग गरेर बीमा कारोबारको हिसाब निकालिन्छ । बीमा कम्पनीहरुमा बीमा पोलिसी बनाउन, प्रिमियम निर्धारण गर्न, वित्तीय विवरण बनाउन तथा भविष्यमा आउने जोखिमको व्यवस्थापन गर्ने काम नै एक्चुअरी मूल्यांकन हो । एक्चुअरी सम्बन्धी अध्ययन गरेका व्यवसायिक व्यक्तिहरुले मात्रै यस्तो हिसाब किताब गर्ने गर्छन् । यो चार्टर्ड एकाउन्टेन्ट भन्दा माथिल्लो स्तरको शिक्षा भएको मानिन्छ ।
जीवन बीमा कम्पनीहरुले सञ्चालन गरेको बीमा योजना अन्तर्गत हुने आम्दानी वा बीमितहरुले कम्पनीलाई बुझाउने शुल्क बिभिन्न खर्च कटाएपछि जीवन बीमा कोषमा राखिने व्यवस्था छ । जीवन बीमा कोषहरुले सञ्चालन गरेको योजनाहरुबाट भएको आम्दानीहरु पूँजीगत जगेडा कोष, बिशेष जगेडा, अन्य जगेडा लगायतका शिर्षकहरुमा यस्तो रकम राख्ने गरिन्छ ।
बीमा शुल्क तथा लगानीबाट भएको आयबाट दाबि भुक्तानी, आयकर लगायतका खर्च कटाएपछि बाँकी हुने रकम बीमा कम्पनीहरुको बचत हो । सोही बचत रकम बार्षिक रुपमा जीवन बीमा कोषमा सारिने गरिन्छ । यदि बीमीतको मृत्यु नभए पनि बीमा योजना परिपक्व भएपछि बीमा कम्पनीहरुले सो व्यक्तिलाई निश्चित रकम भुक्तानी दिने गर्छन् । जीवन बीमा कम्पनीको कुनै पनि योजना परिपक्व नहुँदासम्म त्यस प्रतिको दायित्व कायमै रहिरहन्छ ।
कहिले हुन्छ सुरुवात ?
एक्चुअरी सम्बन्धी अध्ययनको नेपालमा सुरुवात भइसकेको छ । बीमा क्षेत्रमा एक्चुअरी मूल्यांकनको आवश्यकता महसुस गर्दै त्रिभुवन विश्व विद्यालय अन्तर्गत गणित विज्ञान स्कूलमा एक्चुअरी विषयको पठन पाठन शुरु गरिएको हो । यस्तो कोर्ष पूरा गर्न फेल नभइकन अध्ययन गर्दा ७ वर्ष लाग्छ । त्यसपछि मात्रै दक्ष जनशक्ति उत्पादन हुन्छ । यसरी हेर्दा एउटा विद्यार्थीले अध्ययन सक्न मात्रै पूरा ७ वर्ष लाग्छ । उसलाई अनुभवी भएर फिल्डमा उत्रिन ८ देखि १० वर्ष लाग्ने देखिन्छ ।
यस आधारमा नेपालमा एक्चुअरी मूल्यांकनको काम सुरु गर्न अझै १० वर्ष जति लाग्ने देखिन्छ । यस्तो कोर्षको अध्ययन तुलनात्मक रुपमा केही महँगो हुने भएकाले निम्न वर्गका विद्यार्थीहरुका लागि अध्ययन गर्न केही समस्या पर्छ । गणित विज्ञान स्कूलका विद्यार्थीहरु औपचारिक शिक्षाका साथसाथै व्यवसायिक तयारी स्वरुप एक्चुअरी बन्न परीक्षामा समेत सहभागी हुँदै आइरहेका छन् ।
एक्चुअरी मूल्यांकनबाट यस्ता हुन्छन् फाइदा
बीमा गरेका पोलिसी होल्डर र सेयर लगानीकर्ता दुवैलाई एक्चुअरी मूल्यांकनबाट फाइदा हुन्छ । बीमा कम्पनीहरुले एक्चुअरी मूल्यांकनपछिको नाफा आफ्ना लगानीकर्तालाई बाँड्न पाउँछन । एक्चुअरी मूल्यांकन पछिको नाफा दायित्वविहिन रकम हो । बीमा कम्पनीहरुले चाहेको खण्डमा यस्तो रकमको बाँडफाँड गर्न सक्छन् ।































प्रतिक्रिया