अर्थतन्त्रको अवस्थाप्रति गम्भीर बन्न विज्ञको आग्रह, श्रीलङ्काको अवस्थामा पुग्ने चेतावनी

अर्थतन्त्रको अवस्थाप्रति गम्भीर बन्न विज्ञको आग्रह, श्रीलङ्काको अवस्थामा पुग्ने चेतावनी

केन्द्रबिन्दु
0
Shares

अर्थविद्हरुरूले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेकाले सरकार र सम्बधित पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन् । 

नेपाल बुद्धिजीवी परिषद्ले बिहीबार आयोजना गरेको ‘अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु’ विषयक कार्यक्रममा वक्ताले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र श्रीलङ्काको अवस्थामा पुग्ने चेतवानीसमेत दिएका छन् ।
         
कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सूचक रातोमा गएकाले मुलुक गम्भीर सङ्कटमा धकेलिएको बताए। नेता ज्ञवालीले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पूँजीगत खर्च बढाउन, नीतिगतरूपमा भएका सेटिङ रोक्न र राष्ट्र बैंकमाथिको हस्तक्षेप रोक्न आग्रह गरे।
     
पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले बेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पूँजीगत खर्च नबढेको उल्लेख गर्दै अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय हुनुपर्ने बताए। कृषि क्षेत्रमा उत्पादकत्व बढाउनका लागि अनुदान किसानको हातमा पुग्नुपर्नेसमेत उनको सुझाव थियो । 

पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए। वैदेशिक कर्जाले सुरु गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै खनालले उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउनुपर्नेमा जोड दिए। राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावलले विलासिताका सामान आयातलाई रोकेर निर्यात बढाउनुपर्ने बताए।
         
परिषद्का अध्यक्ष एवं योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टीभन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्ने बताए। साथै उनले राष्ट्रिय पूँजी निर्माण गर्न, छरिएको पूँजीलाई एकीकृत बनाउन, उत्पादन बढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा प्रकाश श्रेष्ठले नेपालको अर्थतन्त्रको अहिलेको अवस्थाका बारेमा प्रस्तुति गरेका थिए।

Logo